‘हाम्रै नेपाली दाजुभाइले हामीमाथि पक्षपात गरे’

Chamina-Story-photo-1‘श्रीमानले अर्की लिएर हिँडे । दुई केटाकेटी दुःखले पालेको थिएँ । दुई वर्षअघि ऋण काढेर घर बनाएँ । अहिले घर बनाउँदाको ऋण त्यतिकै छ,’ सिन्धुपाल्चोक फुल्पिङकोट–१ की साङडोमा शेर्पा भन्छिन् । भूकम्प र पहिरोपछि उत्पन्न अन्योलबिच ज्यान जोगाउन बच्चा च्यापेर काठमाडौं आएकी उनलाई आफन्तले शरण दिए ।

‘कति दिनु आफन्तलाई दुःख’ भनेर उनी पालको वास खोज्दै छिन् । बौद्धको फाँटमा रहेका आफू जस्तै गाउँलेले मिलाइदेलान् बास भन्ने आशा छ उनमा । थातथलो गुमाएकी शेर्पासँग पीडा र आक्रोश सँगसँगै छ । शेर्पा भन्छिन्, ‘गाउँमा सानो पसल थियो, घरसँगै गरिखाने पसल पनि पहिरोले पुर्‍यो । घरमात्र होइन, मेरो सपना र दुई सन्तानको भविष्य पनि पुरिदियो पहिरोले । खान लगाउन समस्या थिएन, दुःख गरेर खाएका थियौँ, अहिले केही नभएजस्तो भएको छु । राहत मागेर खाने रहर थिएन तर अहिले अरूले पाए । आफूले नपाँउदा दुःख लाग्छ । हामी केही भएर पनि केही नभएका भयौँ । भएको सबै छोडेर भाग्नुपर्‍यो ।’

भूकम्प र पहिरोले लखेटिएका सिन्धुपाल्चोकवासीलाई यति बेला प्रकृतिले मात्र होइन, आफूहरूलाई मान्छेले पनि ठगेको अनुभूति हुँदै छ । शेर्पा भन्छिन्, ‘सिन्धुपाल्चोकबाट विस्थापित भएर आएका धेरै छौँ ।’ कोही बोडेमा बसेका छन् कोही बौद्धको नयाँवस्तीलगायत स्थानमा । अरू ठाउँ बस्नेलाई चिनियाँ फाउन्डेसनलगायतले सहयोग गरेका छन् ।

उनीहरू व्यवस्थित रूपमा बसेका छन् तर यो बौद्धमा बस्नेको अवस्था दयनीय छ । हामीले कतैबाट केही पाएका छैनौँ । आफूहरू वैशाख १२ अगाडिको अवस्थामा जान सकिएला भन्ने लागेको छैन । कसरी बस्ने अब त्यो ठाउँमा, जतिबेला पनि मन भतभती पोल्छ । आफूले दुःख गरेर अर्जेको घरबास सम्झन्छ । न त रातमा निन्द्रा लाग्छ न मन शान्त छ ।

सिन्धुुपाल्चोकको फुल्पिङकोट गाउँ वैशाख १२ को बिहानीसम्म शान्त थियो । कसैको दैनिकीमा कुनै अवरोध थिएन, सदाझैँ सबै आफ्नै दैनिकीमा थिए । शनिबारको दिन भएकाले कार्यालय जाने र विद्यार्थी पनि घरमै बसेर भोलिको योजना बुन्दै थिए ।

गोरखाको वारपाक केन्द्रबिन्दु भएको भूकम्पले सिन्धुपाल्चोकलाई छोडेन । अझ २९ गते त्यही केन्द्रबिन्दु भएर आएपछि बाँच्ने आस भएकाहरूले पनि आस मारे । पहिलो भूकम्पमा नै उनीहरूले आफन्त र गाउँलेको मृत्यु नजिकबाट हेरे ।

मान्छेले बाँच्दा नपाए पनि मर्दा कात्रोको रूपमा नयाँ बस्त्र पाउने नेपाली परम्परा छ तर फुल्पिङकोटीवासीले मर्दा कात्रो पनि पाएनन् । स्थानीय बलराम लामिछाने भन्छन्, ‘हाम्रो आ–आफ्नै संस्कार छ, कोही मर्दा जलाउने, कसैको गाड्ने । अनेक विधिहरू पनि छन् ।

तर, हाम्रा गाउँमा भूकम्पले मृत्यु भएकाहरूलाई कुनै संस्कार बेगर पोल्यौँ । साँच्चै उनीहरूको अन्येष्टि पनि गर्न सकिएन । मृतकलाई घरमा भएका थोत्रा तन्नामा पोको पारेर लग्यौँ । केहीलाई जलाउँदै थियौँ माथिबाट पहिरो वर्षन थाल्यो, ज्यान जोगाउन भागाभाग भयो । पुरै शव जल्न पाएन । एउटै खाल्टोमा धेरैलाई पुर्नु पर्‍यो, योभन्दा दुःख अरू के हुन्छ ? त्यति बेलाको दृश्य सम्झँदा अहिले पनि उनको मुटु छियाछिया हुन्छ ।

वैशाख १२ पछि सुनसान भएको तातोपानी बजार जाने राजमार्गमा आफ्नै गतिमा बस गुडिरहेको थियो । गाडीमा मान्छे तलमाथि भरिभराउ थिए । अचानक माथिबाट आकाशै ढाक्ने गरी धुलो उडाउँदै पहाड खस्यो । बस रोटी जस्तो भएर किचियो । कहाँका थिए, कति थिए, कति मरे कसैले खोजी गरेन । सडक अवरुद्ध थियो ।

केही समयपछि आएको चिनियाँ डोजर र स्काभेटरले एउटै खाल्टोमा सबैलाई पुरे । लाग्थ्यो मान्छे नभएर अरू नै केही पुरे जस्तै । तिनको बारेमा कतै रेकर्ड भए जस्तो लाग्दैन ।

पछिल्लो भूकम्पले जिल्लालाई ठूलो क्षति पु¥यायो । फुल्पिङकोटीमा मात्र करिब दुई दर्जनले ज्यान गुमाए । गाउँमा बस्न लायक सक्लाघर कसैको छैन । १२ गतेदेखि घरमा भएका पाल टाँगेर बारीको पाटामा बसेका थिए । कहिले यो पाखा कहिले उपाखा कुम्लो बोकेर हिँड्थे । २९ गतेको भूकम्पले अझ त्रास थपिदियो । चारैतिर डाँडाले घेरेको उक्त गाउँमा माथिबाट ढुंगा वर्षन थालेपछि सबैको रुवावासी भयो ।

माथिबाट अढाखोला र फुल्पिङखोलाको त्रास तल भोटेकोसीको कटान एकैपटक भयो । बलराम भन्छन्, ‘बारीको पाटामा बसेका छौँ । माथिबाट एकनासले ढुंगा खसेको छ । कतिबेला तल खोला थुनिने हो भन्ने त्रास, जिरेको पहिरोले भोटेकोसी थुनिँदाको त्रास आलै छ । भूकम्पले मर्ने हो कि पहिरोले थाहा थिएन । अझ भोटेकोसीले हामीलाई सधैँ त्रसाएकै थियो ।

‘पहिरासँगै जताततै कुहिरीमण्डल धुलो उड्यो, कतै केही नदेखिने । जाने ठाउँ थिएन । सबैले बाँच्ने आस मरेका थियौँ । न सरकारको कुनै निकाय गाउँमा पुग्यो न सञ्चारकर्मी हाम्रो दुःख सुन्न गए । चाइनाको टोली आएर अवरुद्ध सडक खुलाउने र पीडितलाई राहत बाड्ने काम हुँदै थियो, प्रमुख जिल्ला अधिकारीले रोके ।

सबै राहत सामन सदरमुकाम मगाएर चौतारामा पीडितलाई मात्र बाँडे । उनको नजरमा हामी त्यहाँका भूकम्पपीडित भएनौ वा उनको हामीसँग सरोकार रहेन, थाहा छैन । उनले आफू नजिककालाई मात्र देखेँ । त्रसित छिमेकी र आफन्तको रुवावासी बढ्न थालेपछि मलाई केही गर्नुपर्छ भन्ने लाग्यो ।

काठमाडौं बस्ने साथी छिरिङ शेर्पाको सहयोगमा यहाँ बस्ने वातारण बनायौँ । अहिले पनि गाउँमा हजारौँ जनता मृत्युको मुखमा छन् । न उनीहरूलाई ल्याउन सकिएको छ । दिनमा सयौँपटक फोन गर्छन् । उनीहरूलाई पनि बाँच्ने आस छ । तर, गर्न केही सकिएको छैन ।’

कोदारी राजमार्गमा पर्ने उक्त गाउँका जनताको खेत भएर पनि अन्न फल्दैन । साना होटल, व्यवसाय र जागिर गरेर पाल्थे जाहान केटाकेटी तर यति बेला उनिहरूसँग न बस्ने घर छ, न खाने अन्न । बाँच्ने आसमा भौँतारिँदै काठमाडौंको खुल्ला स्थानमा आइपुगेका छन् । समस्या नै समस्या छ उनीहरूसँग ।

ठाउँ पाए ओतको समस्या, ओत पाए खानेको समस्या । लगाएको कपडा र आफ्ना अति आवश्यक हलुका सामान बोकेर हिँडेकी पार्वती लामिछाने भन्छिन्, ‘जेठ सात गते यहाँ आयौँ । वैशाख १२ देखि यहाँ नआउँदासम्म सधैँ कुम्लो बेकेर कहिले कुन पाखा कहिले कुन पाखा गरेर बित्यो, दिन रात । गोठमा भएका गाई, भैँसी, कुखुरा, बाख्र सबैको दाम्लो खोलिदिएर आएको । कता गए, के गरे, थाहा छैन । गोठमा ती वस्तु भाउ छोडेर हिँड्दा मन साहै्र रोएको थियो । सँगै ल्याउने कुरा भएन । अहिले तिनैको सम्झना आउँछ ।’

पछिल्लो समय त्यहाँका बासिन्दाले नगदे बालीका रूपमा भुइँस्याउको खेती थालेका थिए । पार्वतीले पनि ऋण गरेर लगाएको उक्त स्याउको निकै आस गरेकी थिइन्, ‘बिउ महँगो थियो । खेती गर्न पनि गाह्रो केही होला भनेर रोपेको थिएँ । गोड्ने बेलामा छोडेर हिँड्नु पर्‍यो ।’ उनको लगानी त्यसै डुबेकोमा चिन्तित छिन् । अहिले बसेको ठाउँमा नुहाउने ठाउँ र शौचालय जाने ठाउँको समस्या रहेको उनले बताइन । महिलाहरूलाई धेरै समस्या हुन्छ, महिनावारी हुने महिला यति बेला अझ बढी समस्यामा रहेको पार्वती बताउँछिन् । केही दिनदेखि हिमानी कोषले १० वटा पानीको ट्यांकी राखिदिएको छ भने हरेक दिन एक ट्यांकर पानी ल्याइदिनाले केही राहत भएको उनले बताइन् ।

भूकम्पले विस्थापितका आ–आफ्नै समस्या छन् । भूकम्पअगाडि आफ्नो घर सम्पत्ति भनेर दंगले बसेका चन्द्र पौडेल परिवारको पनि बौद्धमा पालमुनिको बास भएको छ । पौडेल सरकार र स्थानीय निकायसँग आक्रोशित छन्, ‘सरकारका निकाय राहत बाड्न सजिलो र गाडी जाने ठाउँमा मात्र गएको उनको भनाइ छ । ‘गाउँमा मान्छे खान नपाएर भोकै थिए । कोही आफन्तको लास कुरेर बसेका थिए । त्यति बेला सरकारको शून्यता भयो ।’ यहाँ आउँदा पनि राहतमा पक्षपात भएको’ उनको बुझाइ छ । ‘सहयोग गर्ने चिनियाँहरूको नजरमा सबै नेपाली समान थिए, त्यसैअनुसार राहत पठाए तर हाम्रौ नेपाली दाजुभाइले हामी माथि विभेद गरे । बोडेमा बस्ने सबैलाई राहत पुगेको छ । सुनिन्छ, जे चाहियो त्यही आउँछ तर हामीलाई कसैले टेरेको छैन । तातोपानी बजारमा बस्ने ठूलाबडाको तजबिज बनेको छ, हाम्रा लागि आएको राहत । जिल्लामा रहेको प्रशासन पनि उनै टाठाबाटा र भनसुन गर्नेको पछि लागेको छ । हामी व्यापारी परेनौ, किन सुन्थे हाम्रो कुरा ?

फुल्पिङकोटी घर भएर बौद्ध बस्ने छिरिङ शेर्पा पीडित गाउँलेको बन्दोबस्त मिलाउन व्यस्त छन् । आफूले चिनेको र कुरा सुन्ने शेर्पाहरूको सहयोग जुटाउँदैछन् उनी । ‘भूकम्पको दुइदिनमा गाउँ गएँ, गाउँलेको चित्कार र त्यहाँको दृश्यले मलाए भावुक बनायो । जे गरे पनि मान्छे बचाउनुपर्छ भनेर यहाँ ल्याएर राखेको हो । सम्पत्ति भोलि पनि कमाउन सकिन्छ, पहिला ज्यान बचाउनुपर्छ’ भन्ने उनको विचार छ । गाउँमा हजारौँ मान्छे उनको बाटो कुरेर बसेका छन् । शेर्पा भन्छन्, ‘यहाँ ल्याएर कहाँ राख्ने ? खान के दिने ? व्यवस्था मिलेपछि बाँकीलाई ल्याउने उनको योजना छ ।’ ठूलाभन्दा साना बालबालिका बढी त्रसित भएको उनको विचार छ । बच्चाहरूको पढाइमा निरन्तरता आओस् भनेर अस्थायी स्कुल चलाउन थालेका छन् उनले । अहिले केटाकेटीलाई त्यसले केही राहत मिलेको छ ।
गाँस, बाससँगै आफ्नो पुख्र्यौली थलो खोसिएकोमा उनीहरूको आक्रोश थेगिनसक्नु छ । वडा नम्बर ४ का दिपेश तमाङ भन्छन्, ‘हामीलाई प्रकृतिले मात्र होइन, हामीजस्तै पीडित र जिल्लावासीले पनि हेरेन ।’

मित्रराष्ट्रले दिएको राहतमा केही सीमित व्यापारी र संस्थाको दादागिरी भएको उनले बताए । ‘जिल्लाको शान्तिसुरक्षाको जिम्मा लिएको प्रशासनलाई हामी मरे बाँचेको चासो छैन । जिल्लाका आधाभन्दा बढी मान्छे काठमाडौंमा अलपत्र पर्दा उनी के गर्दैछन् ? सरकार कस्को हो ? हामीले अनुभूति गर्न पाएका छैनौँ,’ जिल्लाका नेता सभासद् कसैले वास्ता नगरेको उनले बताए । आफ्नै देशमा शरणार्थी बन्दै गएका सिन्धुपाल्चोकका जनताको पीडा सरकारले बुभ्नुपर्छ । जनता कुनै रंग, पार्टी वा वर्गका हुँदैनन् । सरकार र दाताको ध्यान सबै पीडित/प्रभावितसम्म पुग्नुपर्छ ।
– चमिना भट्टराई

प्रतिक्रिया