टेन्टको बस्ती बन्यो बोडेको चौर

Chamina-Story-3भक्तपुर जिल्लाको बोडे फाँटबाट उत्तर जंगलको फेदमा रहेको चौर यति बेला आकर्षक चिनियाँ टेन्टका कारण व्यवस्थित बस्ती जस्तै बनेको छ । केहीदिन पहिलासम्म खाली यो चौर यतिबेला भूकम्पपीडितको अस्थायी बस्ती बनेको छ । महिना दिन अगाडिसम्म निश्चिन्ततापूर्वक आफ्ना पक्कीघरमा बसेका जनता यति बेला सयाँ किलो मिटर पर आएर कपडाको पालमा बस्न बाध्य छन् । हिजोसम्म आफ्नो व्यापार र व्यवसायले ठूला साना देखिएकाहरू अहिले सबै एकै वर्गका भएर मिलेर बसेका छन् । उनीहरू आपसमा दुःख सुख बाँड्दै दिन काट्ने प्रयत्न गर्दै छन् ।
वैशाख १२ को भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको सिन्धुपाल्चोक र त्यहाँका जनता यति बेला आश्रयस्थल खोज्दै काठमाडौंका विभिन्न स्थानमा आइपुगेका छन् । सिन्धुपाल्चोकलाई भूकम्पसँगै गएको पहिरोले बढी क्षति पुर्‍यायो । उत्तरी चीनसँग सीमा जोडिएको तातोपानी बजारका बासिन्दा यति बेला खाने र बस्ने समस्यामा छन् । दुःखले बनाएको घर र आफ्नो श्रीसम्पत्ति गुमाएका उनीहरूको अहिले पालमुनिको बास भएको छ । बोडेमा रहेका सयौँ परिवार अहिले खाने र लाउनेको समस्यामा छन् । उत्तरतिरको राम्रो व्यापारिक केन्द्रको रूपमा गनिने तातोपानी बजारमा बस्ने उनीहरूका लागि भूकम्पअगाडि जीवन धान्न समस्या थिएन । प्रकृतिले सबै कुरा खोसेपछि उनीहरू यति बेला केही नभए जस्ता भएका छन् ।
भूकम्पले धेरैको घरवास खोस्यो । सिन्धुपाल्चोकका जनतालाइ भूकम्पले भन्दा पहिरोले बढी त्रसित पार्‍यो । पहाडको फेदीमा रहेको तातोपानी बजारका जनताले नजिकै कतै टाउको लुकाउने ठाउँ पाएनन् र सुरक्षित स्थानको खोजी गर्दै काठमाडौं आए । भक्तपुरको बोडेलाई आफ्ना लागि सुरक्षित स्थल मानेर बसेका उनीहरू कहिलेसम्म यो पालको बासलाइ आफ्नो घर मान्ने भन्ने चिन्तामा छन् । भूकम्पले घर चर्केर बस्न नहुने अवस्थामा पुगे । पहिरो उनीहरूका लागि अर्को समस्या बन्यो । ताातोपानीबाट विस्थापित भएकालाई जिल्लामा रहेको भैरव कुण्ड युवा क्लब र प्रकृतिको घर नेपाल नामक गैरसरकारी संस्थाले चिनियाँ फाउन्डेसन फर पोभर्टी एलिभेसन नामक चिनियाँ संस्थाको स्थानीय रूपमा व्यवस्थापनको काम गरिरहेको छ ।
भैरव कुण्ड क्लबका अध्यक्ष कुमार श्रेष्ठको समय यतिबेला विस्थापितका समस्या समाधान गर्नेमा बितेको छ । आफ्नै गउँका जनता घरवारविहीन भएकोे उनीहरूले देख्न सकेनन् र दुःखमा मलम लगाउने प्रयत्न गर्दैछन् उनी । कुमार भन्छन्, आपत्मा पर्दा जसले जहाँबाट जे सकिन्छ गर्नुपर्छ भन्ने भावनाले आपूहरूले केही गर्ने प्रयास गरेको हो । पीडितका लागि राहत भए पनि आपूmहरूले के के न गरे भन्ने दम्भ उनीसँग छैन । न त कसैसँग गुनासो नै छ उनको । आपूmहरूले गर्न खोजेको सामाजिक काममा सहयोग गर्ने चिनियाँ संस्था प्रति उनी कृतज्ञ छन् । करिब १२ सयको संख्यामा रहेका जनतालाई तत्कालका लागि गाँसबास त भएको छ तर भोलि कहाँ जाने पत्तो छैन । विस्थापितका लागि खाने, बस्ने, स्वास्थ्य उपचार गर्ने लगायतको सहयोग गरिरहेको छ संस्थाले ।
काठमाडौंको सामाखुसीमा बस्ने लोप्साङको चिनियाँ फाउन्डेसनसँग निकटता भएका कारण उनको भूमिका पनि प्रभावकारी रह्यो यो कामका लागि । लोप्साङले चिनियाँ भाषा राम्रो बोल्ने हँदा उनको त्यो क्षमताको भरपुर उपयोग गर्दै छन् पीडितको साथ दिने संस्थाहरूले । उनीहरूले भूकम्पीडित अन्य जनतालाई भक्तपुर दरबारमार्ग, हेलम्बूलगायतको स्थानमा बच्चा केटाकेटी, सुत्केरी महिला, वृद्धाहरूलाई खानाको व्यवस्था गरेका छन् । कयाँ ठाउँका बासिन्दालाई लगाउने कपडासमेत उपलब्ध गराएका छन् । उचित ठाउँ पाए अन्य पीडितलाई बसोवास गराउने उनको चाहना छ । फाउन्डेसन पनि पीडित जनताका लागि मन खोलेर सहयोग गर्न तयार छ ।
तातोपानी कोदारीकी मिना तमाङको व्यवस्थित बसोबास र गरी खाने रोजीरोटी थियो । वैशाख १२ पछि उनको व्यवस्थित जीवनमा वज्रपात परेको छ । भूकम्पले उनको घरलाइ सामान्य क्षति पुगेको थियो । तर, वरपर भाग्ने ठाउँ कतै थिएन । एकाएक आपू बसेको घरमाथिबाट पहिरो वर्षन थाल्यो । सबै भागाभाग गर्न थाले । साँघुरो बजारमा भाग्ने खुल्ला ठाउँ थिएन । उनी साढे चार वर्षको छोरी च्यापेर सासूससुरा डोर्‍याउँदै भागिन् । भाग्दा कता पुगिन्छ भन्ने पत्तो थिएन उनीसँग । ‘पहिरो आउन थालेपछि केही सोच्न सकिनँ । ज्यान जोगाउनु पर्छ भनेर भाग्यौँ । श्रीमान्को अत्तो पत्तो थिएन । पछि बाह्रबिसे आएर सम्पर्क भयो । यति बेला फेर्ने कपडा पनि छैन । शरीरमा जे थियो त्यसैमा भाग्यौँ । यतिबेला घर र आपूले अर्जेको सम्पत्ति सम्झेर मन रुन्छ । के गर्नु ? प्रकृतिको अगाडि कसैको केही लाग्दो रहेनछ,’ उनलाइ यतिबेला आपू बसेको स्थान सुरक्षित लागेको छ । जति अभाव भए पनि ज्यान जोगिएकोमा उनले चित्त बुझाएकी छन् ।
उनीहरूलाई बाह्रबिसेसम्म सशस्त्र प्रहरीले ल्याइदिएको थियो । त्यहाँबाट काठमाडौंमा भएका आफन्त खोज्दै आए । भूकम्पपछि मिनाले सुनेकी थिइन्, काठमाडौं तहसनहस भयो भन्ने । यहाँ आएपछि उनलाई त्यो गलत लागेको छ । ‘हाम्रो गाउँ मात्र होइन, सिंगो सिन्धुपाल्चोकमा सक्ला घर हेर्न गाह्रो छ । । आफन्त नगुमाउने कमै छन्,’ उनी भन्छिन् । त्यहाँको अवस्था हेर्दा यहाँ केही नभए जस्तो लाग्छ उनलाई । आँखा अगाडि धेरै मान्छे मरेको हेर्दै आएकी उनलाइ यहाँ केही नभए भै लागेको छ । यतिबेला मिनाकी छोरी र सासूससुरा हेटौँडामा आफन्तकोमा आश्रित छन् । उनीहरूलार्ई छोरीको सम्झनाले घरीघरी पोल्छ तर गर्न सकिने केही छैन उनका अगाडि ।

Mahila-Nepali-Saxy-Lady
सामाजिक काममा सक्रिय अन्जु पौडेल यति बेला सिन्धुपाल्चोकबाट आएका विस्थापितलाई कसरी व्यवस्थित रूपमा राख्ने भन्ने चिन्तामा छिन् । प्रकृतिको घर नामक संस्थामा आवद्ध उनको दिन सामाजिक काममा बित्ने गरेको छ । ‘यतिबेला मैले जानेको चिनियाँ भाषाको काम राम्रोसँग लागेको छ । सिन्धुपाल्चोकाबाट आएका जनताको कुरा सुन्दा हृदय विदारक लाग्छ । मान्छेका लागि सबैभन्दा ठूलो कुरा आफू र परिवारको जीवन रहेछ ।
यीनीहरू पनि बाँच्ने आशमा यहाँ आएका हुन् । हामीले सकेको गर्ने कोशिस गरेका छौँ । साना केटाकेटीको त्रसित कुरा सुन्दा आँसु झर्छ । हिजो डाक्टर, इन्जिनियर, पाइलट बन्छु भन्ने बच्चाहरू अब केही नबन्ने, पढ्न पनि नजाने भन्न थालेका छन् । यिनीहरूको मनोविज्ञानलाई सहज बनाउनु ठूलो चुनौति छ । यतिबेला मलाई ठूलाको भन्दा यी केटाकेटीको बारेमा धेरै चिन्ता लागेको छ । हरेक दिन यिनिहरूसँग गफ गर्छु । जीवन सहज बनाउने प्रयत्न गरेको छु,’ उनको दैनिकी पनि वैशाख १२ यता व्यस्त बनेको छ ।
काठमाडांमा रहेका विस्थापितहरू यतिबेला भोलिको जीवन कसरी चलाउने भन्ने चिन्त्तामा छन् । गाउँ जाने अवस्था छैन । सधैँ पाल र टेन्टमा बसेर पनि हँुदैन । गरीखान उनीहरूसाग केही योजना छैन । सरकारले बाँच्ने आधार बनाइदेओस् भन्ने आशमा छन्, भूकम्पले विस्थापित भएकाहरू ।
– चमिना भट्टराई

प्रतिक्रिया