‘दुनियाँलाई हामी नेपाली एक छौँ भन्ने सन्देश दिनुपर्छ’

Yadav-Kunwarम काठमाडौंको सामाखुसीस्थित बानियाटारमा बस्दै आएको छु । मुलुकमा महाविनाशकारी भूकम्प आएको दिन (वैशाख १२ गते) म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा थिएँ । त्यो महाभूकम्पमा नेपालमा धेरै नै विनाश गर्‍यो । आफू तेक्वान्दोको खेलाडी भएकाले स्वयंले प्रतिस्पर्धा गरेको नभए पनि प्रायजसो तेक्वान्दो प्रतियोगिता हेर्न भरसक छुटाउँदिनँ ।

त्यस दिन संयोगले नेपाल खेलकुद महासंघ (नेकोस) द्वारा आयोजित जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन भइरहेकाले म पनि त्यहीँ थिएँ । त्यहाँ मलगायत देशभरिका तेक्वान्दो खेलाडी, प्रशिक्षक, रेफ्री र तेक्वान्दो संघका पदाधिकारी उपस्थित थिए । त्यस दिन प्रतियोगिता समापनको दिनसमेत भएकाले त्यहाँ धेरै अतिथि पनि आएका थिए । भूकम्प आउनुभन्दा केही समयअगाडि मात्र खेल सकिन लागेका कारणले खेलाडीहरूलाई ब्रेक दिइएको थियो । त्यसकारण केही खेलाडी हलबाहिर थिए । त्यहीबेला अचानक भूकम्पको कम्पन महसुस हुन थाल्यो । केही सेकेन्डभित्रै भूकम्प थामिन्छ होला कि भनेको कम्पन त लगातार आइरह्यो । अब सबै जनाको आत्तिने र यताउता दौडिने क्रम बढ्न थाल्यो । कसो, ब्रेकको समय भएकाले र कभर्ड हलभित्रका केही खेलाडी बाहिर भएकाले भागदौड गर्ने क्रममा कमै मात्र खेलाडीलाई चोटपटक लाग्न गयो, त्यो पनि सामान्य मात्र । भूकम्प हामी कसैले अनुमान गरेभन्दा निकै ठूलो आएको थियो । त्यसैले म लगायत केही साथी र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा हलको ढोकामा एक अर्कालाई समाएर बसेका थियौँ । यदि त्यो दिनको भूकम्पले कभर्ड हलको भित्री भाग भत्केको भए हामीलगायत केही खेलाडी सायद जीवित रहँदैनथ्यौँ होला । हलमा भएका केही खेलाडी हलबाट बाहिर भागे । भूकम्प लामो समयपश्चात् आउन छोड्यो । त्यही मौका छोपेर म र अध्यक्ष राणा त्यो हलबाट बाहिर निस्क्यौँ ।
यताउता हेर्दा सबै जना आत्तिएका थिए । सबैको कानमा मोबाइल पुगको थियो । सबै जना आफ्ना आफन्तलाई फोन गर्न थाले भने केही घरतिर लागे, हाल खबर बुझ्न । मैले पनि घरमा र आफन्तलाई फोन गर्दा सबैबाट केही नभएको खबर पाएँ, तर एकैछिनमा समाचार सुन्दा मेरा आखाँ रसाए । त्यसको एक मात्र कारण थियो– प्यारा नेपाली जनता, जसले १० वर्ष लामो सशस्त्र द्वन्द्व झेलेका थिए र सयौँ सहिद जन्माउने जनआन्दोलनको सफलतापश्चात् मुक्ति पाएका थिए, अहिले उनीहरूले ती सबै घटना लगभग बिर्सिसकेका थिए । अहिले भर्खर आएको भूकम्पले उनीहरूलाई राम्रोसँग आँसु पनि पुछिन नपाइकन अर्को बज्रपात परेको थियो । निर्दोष नेपालीमाथि नचिताएको प्राकृतिक बज्रपात पर्दै उनीहरूमाथि ठूलो अन्यायसमेत गरेको थियो । विस्तारै भूकम्पले पु¥याएको क्षतिबारे थाहा हुँदै जान थालेको थियो । क्रमशः समाचार कानमा पर्दै जान थाले : हजारौँ जीवन गुमेछन्– कतिजना पुरिएर, कतिजना थिचिएर त कति जना अत्तालिँदै भाग्दा निसास्सिएर । कति हजार अंगभंग हुन पुगे । कति जनाको पूरै परिवार बिलायो त कतिजनाले आफ्ना अनेक प्रियजनलाई गुमाए । भूकम्पले घरबारहरूको नामनिसानै मेटिदिएर लाखौँ जन खुला आकाशमुनि बस्न बाध्य भए । भूकम्प आउनुअघिसम्म सम्पन्न रहेकाहरू भूकम्पपछि विपन्न भइसकेका थिए । धरहरा, कृष्ण मन्दिर, दरबार स्क्वायरहरू, काष्ठमण्डप आदिसमेतका हाम्रा सांस्कृतिक सम्पदा अनि धार्मिक आस्थाकेन्द्र र परम्परागत धरोहरहरू ध्वस्त भएका थिए । बाहिर जिल्लाहरू गोरखा, काभे्र, सिन्धुपाल्चोक, धादिङ र दोलखालगायत गाउँका घरहरू सखाप भएका थिए । यही भूकम्पले खेल क्षेत्रबाट एक जना प्रशिक्षक, केही खेलाडी र एक जना खेलकुद पत्रकारसमेतलाई आफ्नो गाँस बनायो । सबैतिर यस्तै विनाशका खबर मात्र थिए । भूकम्पका झड्का निरन्तर गइरहेका थिए । झन् ठूलो भूकम्प आउने हल्ला चलेको वा चलाइएको थियो । मानिसको मनोदशा झन्–झन् भयग्रस्त हुँदै थियो । पछि २९ गते अर्को भूकम्प आयो जसले १२ गतेको भूकम्पले गर्न नसकेको विनाश लिएर आयो । लाग्यो, भगवान् पशुपतिनाथ किन यसरी हामी निर्दोष नेपालीसित रिसाएका होलान् ?
स्वाभिमानी नेपाली, वीर–वीरांगनाका छोराछोरी हामीले त्यस १२ गतेको विनाशकारी भूकम्पलाई बिर्सन नपाउँदै फेरि पनि प्रकृतिले सोझा गरिब नेपाली जनतामाथि त्रासको वातावरण सिर्जना गर्दा २९ गतेको भूकम्पले तर्साएको थियो । त्यसदिन पनि म तेक्वान्दोको केन्द्रीय कार्यालय ललितपुरको सातदोबाटोको खेल परिसरमा थिएँ । यसपटकको भूकम्प पहिलेको जति लामो समय नआएको भए पनि यसले धेरै मानवीय एवं भौतिक क्षति ग¥यो । यसो भए तापनि मलाई कतै पढेसुनेको सम्झना छ । भन्छन् नि– कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । अबका दिनहरूमा यी सबै कुरा बिर्सेर हामी सबै देशका लागि एकजुट हुनुपर्छ । विश्वको नजर अहिले हाम्रो देश नेपाल र हामी नेपाली जनतामाथि परेको छ । यस्तो अवस्थामा अन्य देशको नेपालप्रति नराम्रो धारणा विकसित हुनुअगावै हामी सबै नेपाली एकताको बलियो बन्धनमा बाँधिएर ‘हामी नेपाल जहाँ रहे भए पनि एक हौँ र एक छौँ’ भन्ने सन्देश दिनुपर्छ ताकि हाम्रो देश नेपालप्रति कसैको कुदृष्टि नपरोस् र पर्न पनि नपाओस् ।
(यादव कुँवर नेपालका ‘पहिलो अन्तर्राष्ट्रिय पारा तेक्वान्दो’ पदक विजेता हुन् । उनले चौथो विश्व पारा तेक्वान्दो प्रतियोगितामा कास्य र पाँचौँ विश्व पारा तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका थिए ।)
– अनिल ठकुरीले कुँवरसग गरेको कुराकानीमा आधारित

प्रतिक्रिया