नाइटेड अरब इमिरेट्स, युएई । अर्थात्, संसारकै एउटा लोभलाग्दो देश । उत्कृष्ट अर्थव्यवस्था, वर्षभरि एकै रहने मौसम र काम गर्ने वातावरणले मानिसलाई यस देशसँग लोभ्याउने गरेको छ । केही समय अघिसम्म युएईमा महिलाको अवस्था राम्रो थिएन । उनीहरू घरभित्रै सीमित थिए । तर, समाजमा अहिले काम गर्ने महिलालाई स्वीकार्ने परिपाटी छ । उनीहरूलाई माथिल्लो ओहदामा जागिर मिलिरहेको छ । अझै पनि उनीहरूको कार्यक्षमतालाई लिएर सन्देह कायम छ, तर त्यस्ता सबै समस्या चिर्दै महिलाहरू अघि बढ्दैछन् । अहिले सेना, पुलिस, इन्जिनियरिङ, मिडिया, व्यवस्थापनलगायतका थुप्रै क्षेत्रमा महिलाको उपस्थिति बढ्दैछ । सरकारमा अहिले पाँच महिला मन्त्री छन् ।
युएईमा पढेलेखेका र करियरमा ध्यान दिने महिला बढ्दैछन् । तर पनि उनीहरूले अघि बढ्नका लागि थुप्रै अवरोध सामना गरिरहनुपरेको छ । तलबदेखि छुट्टीसमेतमा उनीहरूलाई कार्यालयले भेदभाव गरिरहेको छ । ३१ वर्षीया फराह अलसशम्सीले दुईवटा विषयमा डिग्री लिइसकेकी छन् । उनी एक सरकारी एजेन्सीको माथिल्लो ओहदामा कार्यरत छिन् । यसबाहेक आफ्नो कम्युनिकेसन तथा एड्भाइजरी कम्पनीसमेत चलाउँछिन् । उनी भन्छिन्, ‘सबै क्षेत्रमा महिला काम गर्दैछन् । सरकारले महिलालाई सहायता गरिरहेको छ, परिवारले उत्साह बढाइदिएको छ । सरकारी मन्त्रालयदेखि सार्वजनिक क्षेत्रमा समेत थुप्रै महिला कार्यरत छन् ।’
बाँकी खाडी राष्ट्रको तुलनामा युएईका महिला कामकाजका लागि धेरै खुला छन् । आलशम्सी जस्ता युवतीले सित्तैमा शिक्षा, सित्तैमा घर र सार्वजनिक जागिरमा प्राथमिकता पाएका छन् । तर, युएईमा काम गर्ने स्थानीय नागरिकहरूको संख्या केवल १० प्रतिशत मात्रै छ । युएईमा काम गर्न दुनियाँभरका मानिस आउने गरेका छन् । विदेशबाट आउने महिलाको संख्या पनि कम छैन ।
यसै वर्ष मात्रै दुबईका शासक तथा युएईका उपराष्ट्रपति शेख मोहम्मद विन राशिल अल मख्तुमले अन्डर जेन्डर ब्यालेन्स काउन्सिल स्थपना गरेका छन् । स्थानीय पत्रकारहरूका अनुसार यस काउन्सिलले कामकाजी महिलाको सशक्तीकरणका लागि नयाँ रणनीति तयार पार्नेछ । यस काउन्सिलका अध्यक्ष शेख महोम्मदकी छोरी शेख मानल बिन मोहम्मद बिन राशिद अल मख्तुम हुन् । उनी दुबई महिला सशक्तीकरणकी अध्यक्षसमेत हुन् । दुबई महिला सशक्तीकरणको स्थापना सन् २००६ मा भएको थियो । यसको एउटै उद्देश्य दुबईमा कामकाजी महिलाको संख्या बढाउनु हो । अहिले पनि कामकाजी महिलाका लागि स्तरवृद्धिको सम्भावना भने निकै कम छ । सेवामूलक क्षेत्रमा काम गर्ने महिलाहरू वेट्रेस, तल्लो तहका कार्यालय कर्मचारीलगायतका सानै पदमा सीमित छन् । उनीहरू तेस्रो पक्षसँगको सम्झौतापछि काममा सक्रिय हुने गरेका छन् ।
युरोप, भारत र मध्यपूर्वका अन्य देशबाट दुबई आएर काम गर्ने महिलाहरूको स्थिति भने निकै राम्रो छ । अन्तर्राष्ट्रिय संस्थाहरूका काम गर्ने महिलाले पैसा र चर्चा पनि राम्रो बटुल्ने गरेका छन् । अन्तर्राष्ट्रिय संस्थामा बढुवाका लागि समेत महिलालाई विशेष ग्राहयता दिइँदै आएको छ । अहिले पनि आफ्ना पतिसँगै युएई जाने महिलालाई सरकारले हाउसवाइफ भिसा उपलब्ध गराउँदै आएको छ । यस भिसाका कारण महिलाले सुरुमै काम गर्न भने पाउँदैनन् । आफ्नो पतिले काम गर्नका लागि स्वीकृतिस्वरूप ‘नो अब्जेक्सन’ लेटर दिएपछि मात्रै उनीहरू कामका लागि योग्य मानिन्छन् । व्यावहारिक रूपमा महिलालाई अघि बढ्न यस्तो प्रक्रियाले धेरै समस्या खडा गरेको छ । बैकिङदेखि सम्पत्ति खरिद गर्नेसम्म महिलाहरू समस्या सामना गर्न बाध्य छन् ।
युएईमा असमान तलबसँगै महिलालाई सुत्केरी बिदा लिनसमेत मुस्किल पर्ने गर्छ । सालेम सादेहले अझै बिहे गरेकी छैनन् । उनी लेबनानबाट बैकिङ तथा क्यापिटल मार्केटको काम गर्न दुबई आएकी थिइन् । उनको बुझाइमा दुबईको कर्पोरेट संस्कृति पुरुषप्रधान छ । अहिले आफ्नै भेन्चर क्यापिटल फर्म चलाइरहेकी सालेम भन्छिन्, ‘दुनियाँभरि बैकिङ क्षेत्रमा जति पुरुषले काम गर्छन् त्यति महिला छैनन् । यस क्षेत्रमा अझै महिलाले आफूलाई प्रमाणित गर्न पुरुषको तुलनामा दोब्बर काम गर्नुपर्छ ।’ ४२ वर्षीया सालेमका अनुसार युएईमा माथिल्लो तहमा कमै मात्र महिलाले जागिर पाएका छन् । उनी भविष्यमा यस्तो आँकडा बढ्न सक्ने बताउँछिन् । ‘अहिले समाज बिस्तारै खुला भएको छ । त्यसैले भविष्यमा महिलाले पनि ठूलो ओहदामा जागिर गर्नसक्न ढोका खुलेको छ,’ उनी भन्छिन् ।
२५ वर्षीया आयशा अलाजरुई अबुधाबीको एक पत्रिका द नेशनलमा काम गर्छिन् । उनी समाज सुधारको दिशामा आफू अघि बढिरहेको बताउँछिन् । ‘स्थिति परिवर्तन हुदैँछ । अहिले महिलाले आफ्नो स्वतन्त्रता उपयोग गर्दैछन् । उनीहरूको आत्मविश्वास बढेको छ । पढाइ र करियरका कारण अहिले उनीहरूले ढिला मात्रै बिहे गर्छन्,’ उनले भनिन् ।
कामकाजी महिलाले साउदी अरबमा केवल ४५ दिनका लागि मात्रै सुत्केरी बिदा पाउने गरेका छन् । केही प्राइभेट कम्पनीले दिाको समयमा समेत पैसा काट्ने गरेका छन् । तर, त्यस्ता कम्पनीले धेरै समय बिदा दिन सक्छन् । सारा खोजा भन्छिन्, ‘पार्टटाइम काम पनि पाउन थालेका छन् महिलाले ।’ कन्सल्टेन्ट माथियु ग्रिबल मध्यपूर्वी तथा अफ्रिकास्थित पेज ग्रुपका एमडी हुन् । उनी युएईमा पार्टटाइम जागिरका लागि अवसर खुलेको स्वीकार्छन् । उनको कम्पनीले महिलालाई १२ महिना सुत्केरी बिदा दिने गरेको छ । युएईमै रहेको ग्लोबल मिडिया एजन्सीले महिलालाई सुत्केरी हुदाँ सुरुवाती १० हप्तासम्म पूरै तलब दिने गरेको छ । त्यसपछि थप ६ हप्ता बिदा बस्नेले आधा तलब पाउँछन् । थप ८ हप्ताको छुट्टीको विकल्प पनि छ, तर, तलब नलिने शर्तमा । यसबाहेक पुरुषलाई समेत आफ्ना छोराछोरी जन्मिएपछि सात दिनसम्म छुट्टी बस्न पाउने अधिकार कम्पनीले दिएको छ ।
ग्लोबल मिडियाका एचआर मेनेजर ब्रे हिल भन्छन्, ‘संस्थालाई महिलापुरुष दुवैको आवश्यकता हुन्छ । उनीहरू दुवैको क्षमता फरक–फरक छ ।’ युएईका सात राज्यमध्येको एक शारजाहले सुत्केरी बिदा बढाएर ६० दिन पु¥याउने फैसला गरिसकेको छ । दुबई इन्टरनेशल फाइनेन्सियल सेन्टरले महिलालाई ६५ दिन बिदा दिन थालेको छ । यसमध्ये ३३ दिनको पूरै तलब पाइन्छ भने बाँकी ३२ दिनको आधा तलब मात्र आउँछ । सालेम सादेह भन्छिन्, ‘दुबई निकै शान्दार ठाउँ हो । यहाँ रोजगारीका लागि थुप्रै अवसर छन् । तर, त्यसका लागि मिहिनेत धेरै गर्नुपर्ने हुन्छ ।’ (एजेन्सी)
प्रतिक्रिया