कोरियाबाट राहतका लागि तीन लाख एक हजार

अर्घाखाँची । अर्घाखाँचीबाट रोजगारीका लागि दक्षिण कोरियामा गएका युवाले नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको विनाशको उद्धार र राहतका लागि तीन लाख एक हजार आर्थिक सहयोग गरेका छन ।

अर्घाखाँचीबाट कोरिया गएका अर्घाखाँचीवासीको साझा मञ्च अर्घाखाँची–कोरिया सम्पर्क मञ्चको पहलमा थोरै रकम भए पनि नेपालका भूकम्पपीडितलाई सहयोग गर्न सकियोस् भन्ने हेतुले राहत रकम जम्मा गरेको अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष युवराज पाण्डेले बताए ।

अर्घाखाँचीबाट दक्षिण कोरियामा गएका युवायुवतीको सानो सहयोगले पनि भूकम्पपीडितको घाउमा मलम लगाउन सकिने र थोरैथोरै गरेर धेरै रकम जम्मा हुने विश्वासकासाथ रकम सङ्कलन गरेर राहतका लागि पठाएको अर्घाखाँची सम्पर्क मञ्चका उपाध्यक्ष बाबुराम आचार्यले बताए ।

अर्घाखाँची–कोरिया सम्पर्क मञ्चका अध्यक्ष पाण्डे, उपाध्यक्ष आचार्य, सचिव झविन्द्र बेल्बासे, कोषाध्यक्ष भरत पाण्डेलगायत सम्पूर्ण अर्घाखाँचीका युवाको पहलमा सङ्कलन भएको तीन लाख एक हजार आजै जिल्ला दैवी प्रकोप उद्धार समिति अर्घाखाँचीको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिएको मञ्चका पूर्व कोषाध्यक्ष गणेश थापाले बताए ।

राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरेको भौचर मञ्चका पूर्व अध्यक्ष कर्णजङ्ग रायमाझी र पूर्व कोषाध्यक्ष गणेश थापाले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई हस्तान्तरण गरे ।

प्रतिक्रिया