काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त शिक्षण संस्थाको विवरण संकलन गरी आवश्यक सहयोग गर्न निजी विद्यालयहरूको साझा संगठन अपिनले नेसनल प्याब्सन अध्यक्ष कर्णबहादुर शाहीको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिका सदस्यमा इन्जिनियर रामेश्वर रिजाल, रमेश सिलवाल, डी. के. ढुङ्गाना, शम्भु दाहाल, वसन्तचन्द्र मरहट्ठा र पंकज ज्वलन छन् । समितिले निजी शिक्षण संस्थाको विवरण तीन दिनभित्र संकलन गरी ब्यांक कर्जा, सहुलियतलगायत सहयोगका लागि पहल गर्ने संयोजक शाहीले बताए । भूकम्पले क्षति पु¥याएका विद्यालयहरू, उच्च माध्यमिक विद्यालय, प्राविधिक शिक्षालय र विश्वविद्यालय मातहतका कलेजको जीर्णोद्धार र पुनर्निर्माण गर्दै सुचारु रूपले सञ्चालन गर्न तत्काल, अल्पकालीन र दीर्घकालीन नीतिनिर्माण गर्न र कार्यान्वयन गर्नका लागि सरकार तथा सरोकारवालासँग समन्वय गर्न समिति गठन गरिएको अपिनले जनाएको छ ।
अपिन भूकम्पपीडित उद्धार मूल समितिको शनिबार बसेको बैठकले उच्च माध्यमिक विद्यालय, प्राविधिक शिक्षालय तथा कलेजहरू जेठ १० र विद्यालयहरू जेठ १७ गतेदेखि सुचारु गर्ने निर्णय गरेको छ । बैठकले मातहतका विद्यालयहरू, उच्च माध्यमिक विद्यालयहरू, सिटिइभिटी मातहतका संस्थाहरू तथा विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा भएको जनधनको क्षतिको पूर्ण विवरण जेठ ५ गतेसम्म संकलन गरी सत्यतथ्य जनसमक्ष ल्याउने निर्णय गरेको छ ।
त्यसैगरी, बैठकले यही वैशाख १२ गते आएको माहाभूकम्पदेखि हालसम्मको कार्यको समेत समीक्षा गरेको छ । वैशाख १२ र २९ गते आएको भूकम्पपश्चात् दुःख र विपत्तिको घडीमा अपिनको अनुरोधमा स्वतस्फूर्त ढंगले मानवीय संवेदनशीलतालाई ख्याल गर्दै विद्यालय तथा कलेज प्रांगणलाई आम जनसमुदायको हितका लागि प्रयोग गर्न दिएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ । साथै, वैशाख १६ र १७ गते काठमाडौंदेखि पूर्व र पश्चिम निःशुल्क बस सञ्चालनमा सहयोग पु¥याउने विद्यालय, कलेजहरू, उमाशिप, सिटिइभिटी, साझा यातायातलगायत संस्था एवं बस चालक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, निःशुल्क बस व्यवस्थापन गर्न सहयोग पुर्याउने नेपाल सरकार, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत अन्य स्वयंसेवी व्यक्ति तथा संघसंस्थालाई आभार व्यक्त गरेको छ ।
बैठकले भूकम्पपीडित गोर्खा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर र ललितपुरमा ६० लाख बराबरको पाल, खाद्यान्न तथा राहतका अन्य समग्रीहरू वितरणमा संलग्न व्यक्ति तथा संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेको छ । (सौस)
प्रतिक्रिया