इतिहासको धरोहर बोक्दै १९० वर्षअघि बनेको धरहरा पुनः बन्ने भयो

Dhaharaमहारानी ललितत्रिपुरसुन्दरीले १८८२ सालमा गजुरसहितको धरहरा बनाएकी थिइन् ।
ललितत्रिपुरसुन्दरीले धरहरा बनाएको एक वर्षअघि नै अर्थात् १८८१ सालमा जनरल भीमसेन थापाले आफ्नै दरबारछेउ धरहरा बनाएका थिए । त्यसपछि ललितत्रिपुरसुन्दरीले भीमसेन थापाको एकल धरहरालाई जोडी बाँधिदिएकी थिइन् । तत्कालीन नेपालमा जोरधरहराका कारण त्यो ठाउँ प्रसिद्ध थियो ।
ललितत्रिपुरसुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, ‘स्वस्तिश्री संवत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जाँदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्रीश्री श्रीमल्ललित त्रिपुरसुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो । शुभम्
ललितत्रिपुरसुन्दरी र भीमसेन थापाका दुवै धरहरामा संवत् १८९० को भूकम्प र १९१३ को बज्रले क्षति पुगेको थियो । यी दुवै धरहराको संवत् १९२६ मा जीर्णोद्धार गरिएको थियो । साथै संवत् १९९० को महाभूकम्पबाट फेरि यी दुवै धरहरा भत्किएका थिए । त्यस घडी भीमसेन थापाको धरहरा जगैबाट गल्र्यामगुर्लुम भत्केको थियो ।
१९९० को महाभूकम्पबाट ललितत्रिपुरसुन्दरीले बनाएको धरहराचाहिँ साढे चार तला सग्लो रहेको तथ्य त्यतिबेला खिचेको तस्बिरमा देखिन्छ । उक्त तस्बिरमा एकातिरको मात्रै दृश्य देखिने भएकाले धरहराको चर्केको अरू भाग नदेखिएको पनि हुन सक्छ किनभने धरहराको मूल ढोकाको सिरानमा राखिएको धातुको अभिलेखमा चाहिँ त्यो धरहरा ‘दुई तलासम्म पुरानो बाँकी भएको’ लेखिएको छ । त्यस अभिलेखको पूर्ण पाठ यस प्रकारको छ–
‘संवत् १८८२ साल चैत सुदी १२ रोज ४ मा श्रीश्रीश्री मल्ललित त्रिपुरसुन्दरीदेवीबाट बनाइबक्सेको यो धरहरा वि.सं. १९९० साल माघ २ गते (माघ कृष्ण ३०) सोमबारको भीषण भूकम्पले भत्की दुई तलासम्म पुरानो बाँकी भएकोमा अरू तला उठाई बनाई श्री ३ महाराज जुद्धशमशेर जंगबहादुर राणाबाट वि.सं. १९९२ सालमा जीर्णोद्धार गरिबक्सिएको । शुभम् ।
नौतले धरहराको सातौं तलामा बार्दली रहेको थियो । जमीनदेखि नवौं तलासम्म दुई सय ३८ वटा खुड्किला रहेको धरहराको माथिल्लो तलामा शिवलिंगको स्थापना गरिएको थियो । धरहराको उचाइ दुई सय तीन फिट थियो । तर, जगदीशचन्द्र रेग्मीले धरहराको उचाइलाई ‘यो दुई सय ५० फिटजति अग्लो छ भनिन्छ’ लेखेका छन् भने गौतमबज्र बज्राचार्यले ‘९० हात’ उल्लेख गरेका छन् ।
त्यतिबेलाका काठमाडौंका जनतालाई महत्वपूर्ण सूचना सम्प्रेषण गर्नुपर्दा भने धरहराका टुप्पाबाट बिगुल बजाइने अथवा कराइने गरिन्थ्यो । पछि–पछि यो ठाउँ सैनिकका लागि पनि उपयोगी हुन थाल्यो । २०४६ सालपछि धरहराबाटै काठमाडौं उपत्यकाको दृश्यावलोकनका गलत परिपाटी पनि रहँदै आए ।
जनश्रुतिअनुसार धरहरा जोस्, जाँगर र उत्साहको प्रतीक मानिन्थ्यो । धरहराको आकार, प्रकार र ढाँचाका कारण यसलाई हिन्दू, इसाई र मुसलमान धर्मको मिश्रित स्वरूप हो पनि भनिन्थ्यो ।
(२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले धरहरा भत्केको थियो । त्यस घटनाले पनि धेरैको मन दुखेको थियो । अन्ततः एकजना वीर पुरुष अर्थात् जगदम्बा स्टिल कम्पनीका अध्यक्ष श्री साहिल अग्रवालले उक्त धरहरा बनाउने अठोट गरेको समाचार पढ्न पाइयो । उहाँले यो धरहरा बनाएपछि उहाँको नाम इतिहासमै स्वर्णिम हुनेछ । साहिल अग्रवालजस्ता राष्ट्रिय सम्पदाको मर्मज्ञप्रति म श्रद्धा अर्पण गर्दछु ।)
– नरेन्द्रराज प्रसाईं

प्रतिक्रिया