काठमाडौं, २२ वैशाख । १२ वैशाखमा गएको भूकम्पमा परेका पीडितहरूको सहायताका लागि धेरैजसो खेलाडी सक्रिय रहे । सबै खेलका विभिन्न खेलाडी, प्रशिक्षक र खेलकर्मीले आफ्नो ठाउँबाट सक्दो प्रयास गरे । तर, केही समय भूकम्प पीडितको सहयोगार्थ खटिए पनि धेरैजसो कार्यालय खुलिसकेकाले खेलाडीहरू लामो समयसम्म सहयोग गर्न पाएनन् । सरकारले भूकम्प गएको केही दिन पछाडि शैक्षिक क्षेत्रबाहेक अधिकांश कार्यालयलाई सञ्चालन गरी सहज रूपमा सेवा प्रदान गर्न निर्देशन दिएको थियो ।
जसकाकारण प्रायःजसो खेलाडीले अफिसबाट बचेको समयमलाई पीडितहरूको सेवामा खर्चेको बताउँछन् । उपत्यकामा भूकम्पको धेरै क्षति र महामारी फैलिने डरले करिब ६ लाख मानिसले सहर छाडे पनि नेपाली खेलकुदका खेलाडी भने पिडितहरूको सहयोगका लागि खटिएका छन् ।
उनीहरूलाई न त महामारीको चिन्ता छ न त भूकम्पको नै चिन्ता, तर नेपाली खेलाडीलाई एउटा मात्र चिन्ता छ त्यो हो पीडितहरूको जागिरको बन्धनको कारण सहयोग गर्न नपाएको चिन्ता ।
तेक्वान्दोका दोस्रो डानकी खेलाडी रोजिना थपलिया भन्छिन्, ‘यो समय पीडितहरूलाई हाम्रो सहयोग आवश्यक छ तर हामीले उनीहरूका लागि केही गर्न सकेका छैनौँ । अफिसले काममा बोलाउँछ, सबैले काम नगरी भूकम्पपीडितको सेवामा लाग्दा देशमा फेरि गाह्रो परिस्थिति सिर्जना हुन्छ, कहिले त जागिर नै छोडौँ जस्तो लाग्छ ।’
तेक्वान्दोका खेलाडी तथा रेफ्री रोमी गिरी पनि त्यो कुरामा सहमत जनाउँछिन् । सरकारले पनि सहज वातावरण सिर्जना गर्न कार्यालय खोल्न सबै निर्देशन दिइसकेको छ । सरकारको निर्णय पनि ठिकै हो तर पीडितका लागि केही गर्न नसक्दा नराम्रो नै लाग्दो रहेछ ।
रोजिना भन्छिन्, ‘देशमा यस्तो अवस्था होला भन्ने कल्पना नै गरिएको थिएन । कहिलेकाहीँ सुनिएको थियो १९९० सालमा नेपालमा पनि ठूलो भूकम्प आ’को थियो रे ! कहिलेकाहीँ नेपालमा सानो तिनो आउने गरेकोले भूकम्प भन्ने सामान्य लाग्थ्यो तर अहिले त भूकम्पको नामले पनि डर लाग्छ । यत्रो निर्दोश नेपालीको ज्यान लियो ।’
‘दस वर्षको सशस्त्र आन्दोलनमा कयाँ नेपालीको रगत बगे र हजारौँ घरबारविहीन भए । त्यस्तै, लामो समयको राजनीतिक अस्थिरताले १० वर्ष पछि परेका हामी नेपाली अब त प्रकृतिले नै हामीमाथि ठूलो बज्रपात गरेर झन् हामी २०–३० वर्ष पछि पार्यो । नेपालको केही मुहार फेरिएको थियो नेपालीको आँखामा आँसु सुक्न नपाउँदै यस्तो भयो’, तेक्वान्दो खेलाडी रोजिना भन्छिन् ।
रोमीको भनाइ पनि त्यस्तै छ । ‘यस दुखद घडीमा हामी सम्पूर्ण नेपालीलाइ ठूलो चोट परेको छ तर पनि बिस्तारै केही दिनपछि सबै भुल्नुपर्छ । हामी नेपालीको भाग्य नै कमजोर कहिले द्वन्द्व त कहिले प्रकृतिको अन्याय ।’
उनी भन्छिन्, ‘हामीले खेलकुदमा पनि केही साथी गुमाएकोले धेरै दुःख लागेको छ । खेलकुदमा पनि केही क्षति र दुर्घटना परेकाले सामान्य स्थिति भएर खेल पुनः सञ्चालनमा आउन अब लामो समय लाग्छ ।’ खेलकुदका सबै साथीसँग राम्रोसँग सम्पर्क नभएकाले केहीले खेल नै छोड्ने अवस्था सिर्जना भएको होलान् ।
उनी भन्छिन् भूकम्पमा उसुका केही खेलाडी पनि घाइते भए । करातेका खेलाडी प्रेमचन्द्र श्रेष्ठ, भलिबलका प्रशिक्षक केशवलाल श्रेष्ठको मृत्युले त झन् दुखित बनायो । बक्सिङ खेलाडी दीपक महर्जन र करातेका सुनील लामाको घर भत्कियो । दीपक दाइको परिवारको चार जनाको मृत्यु नै भएकोले हामीले खेलकुदमा केही गुमायौ जस्तो लाग्छ ।
खेल पत्रकार सुमन भोम्जनको निधनले ठूलो चोट दिएको बताउँदै उनले भनिन्, ‘खेलकुदमा खेल पत्रकारितामा अध्याँरो छाएको छ ।
रोजिना भन्छिन्, ‘अब हामी नेपाली र समग्र खेलाडी मानसिक र शारीरिक रूपले पूर्ण तयार हुन धेरै समय लाग्छ होला जसले गर्दा खेलकुदमा यो अबको केही समय सकरात्मक नतिजा शून्य नै रहन्छ ।’ रोमी पनि भन्छिन्, ‘केही खेलकुदका संरचना भत्किएकाले खेलकुदमा पहिलेको अवस्थामा फर्कन ५–६ महिना नै लाग्छ ।’
दुवै खेलाडी भन्छन, ‘जे हुनु भइसक्यो अब हामीले सबैथोक बिर्सेर अगाडि बढे मात्र देशले एउटा राम्रो गति लिन सक्छ । र, हाम्रा ती निर्दोष नेपाली जसलाई प्रकृतिले धोका दिएका छ उनीहरूको आत्माले पनि शान्ति पाउनेछन् ।’
प्रतिक्रिया