जलालावाद । पूर्वी अफगानिस्तानको जलालावाद सहरमा रहेको एक बैंकमा शनिबार गराइएको आत्मघाती बममा परी कम्तीमा ३३ जनाको ज्यान गएको छ । इस्लामिक स्टेट विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएको छ ।
मारिनेमा अधिकांश सरकारी कर्मचारी नै परेका बताइएको छ । विस्फोटमा परी अरू ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । तीमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो क्षेत्रमा रहेको उक्त बैंकमा सरकारी कर्मचारीले मासिक तलब लिनका लागि जम्मा भइरहेको समयमा सो हमला भएको छ । बमले लागेर ज्यान जानेमा अधिकांश सरकारी कर्मचारी परेका छन् ।
कर्मचारीले मासिक तलब लिनका लागि सो बैंकमा भिड लागेको समयमा यस्तो हमला भएको प्रहरीले जनाएको छ । उक्त बैंकको परिसरमा ठूलो संख्यमा कर्मचारी जम्मा भएको समयमा हमला भएको बताइएको छ । नान्गार प्रान्तका प्रान्तीय प्रहरी प्रमुख फजाल अहमद सिरजादले सो समाचारको पुष्टि गरेका छन् । उनले मारिने नागरिकको संख्या हाल २२ रहेको बताएका छन् । मारिनेको संख्या अझ बढ्नसक्ने अनुमान पनि उनले गरेका छन् । उनका अनुसार अस्पतालसम्म पु¥याइएका अधिकांश व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न पनि सक्नेछ ।
अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक हमला जारी राखेको तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने सो हमलाको जिम्मेवार तालिवान नरहेका बताएका छन् । शनिबार बिहान भएको सो हमलाका लागि उनले जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ । अफगानिस्तानमा हुने प्राय यस्ता हमलाहरूमा त्यहीँका तालिवानको हात रहने जानकारी प्रहरीले दिने भएकोले यसअघि नै उनले सो घटनाको जिम्मेवारी नलिइएको बताइएको छ ।
पछिल्लो समय अफगानिस्तानका तालिवानले त्यहाँका सरकारी कार्यालय र सुरक्षा निकायमा यस्तो आक्रमण केन्द्रित गर्ने गरेका छन् । उनीहरूले यसअघि पनि यसै महिना सुरक्षाकर्मीलाई लक्ष्यगरी हमलाहरू गरेका छन् । सन् २०१४ को अन्त्यसँगै अफगानिस्तानबाट नेटो सैनिकले अफगानिस्तान छोडिसकेका छन् । सो घटनापछि तालिवानले पनि सरकारी कार्यालय र कर्मचारीमा यस्तो आक्रमण केन्द्रित गरिरहेको बताइएको छ । (एजेन्स)
प्रतिक्रिया