दमासकास, ५ वैशाख । सिरियाली राष्ट्रपति बसार अल असदले हालैमात्र संयुक्त राष्ट्रसंघले सिरियाली विद्रोहीलाई युद्धविरामका लागि तयार पारेकोमा सो योजना विफल हुन पुगेको बताएका छन् । उनले छिमेकी देश टर्कीले सो योजना विफल पारिदिएको आरोप लगाएका हुन् । विद्रोहीहरू त्यसका लागि तयार रहेको भए पनि टर्कीले त्यसो हुन नदिएको असदले आरोप लगाएका हुन् । उनले एक अखबारको अन्तरवार्तामा भनेका छन्, ‘युद्धविरामका लागि विद्रोही पनि तयार थिए र सरकारले पनि सकारात्मक रूपमा लिएको थियो, तर पनि टर्कीले दिएन ।’
टर्कीले सिरियामा विद्रोह गरिरहेका विद्रोहीलाई उक्साउने काम गरेको आरोप पनि असदले लगाएका छन् । विगतदेखि नै टर्कीले सिरियाविरुद्ध विद्रोहीलाई सहयोग गर्दै आएको असदले लगाए ।
एक स्वीडिस पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘टर्कीले सिरियाली विद्रोहीलाई प्रभावमा पारी शान्तिका लागि हुने सबैखालका प्रयासमा पनि सहभागी हुन दिइरहेको छैन ।’ पश्चिमाहरूको सहयोग रहेका केही विद्रोहीहरू अहिले पनि टर्कीमा बसेर विद्रोह गर्ने गरेको उनले आरोप लगाए । सिरियाका लागि राष्ट्रसंघीय विशेष दूतले गत मार्च १ तारिखका लागि प्रस्ताव गरेको युद्धविरामको प्रस्ताव विद्रोहीले अस्वीकार गरेका थिए ।
उनीहरूले सिरियामा अब असदले सत्ता छोड्ने मात्र विषय वार्ताको एजेन्डा हुन नसक्ने बताएका थिए । विद्रोहीहरूद्वारा सो प्रस्ताव अस्वीकार गर्ने काममा टर्कीको हात रहेको असद सरकारको दाबी छ । सिरियामा सन् २०११ देखि राष्ट्रपति आसदका विरुद्धमा विद्रोह जारी छ । सोही विद्रोहका कारण डेढ लाखभन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।
प्रतिक्रिया