तीनसय अमेरिकी सैनिक युक्रेनमा

किभ । युक्रेनमा तीन सय अमेरिकी सैनिकले युक्रेनी सैनिकलाई तालिम दिन सुरु गरेको अमेरिकाले जनाएको छ । अमेरिकी सैनिकले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको हो । युक्रेनमा रसियाली समर्थित विद्रोहीहरूका विरुद्धमा सशक्त बनाउन युक्रेनी सैनिकलाई सो तालिम दिइएको बताइएको छ ।
अमेरिकी सैनिक गत मंगलबार र बुधबार युक्रेन पुगेका बताइएको छ । सो विषयमा अमेरिकी सैनिकले दिएको जानकारीअनुसार हाल त्यहाँ युद्धविरामको अवस्था रहेको भए पनि सो तालिमको आवश्यकता महसुस भएकाले दिइएको हो ।
युक्रेनका विषयमा संयुक्त राज्य अमेरिका र युक्रेन एक आपसमा आरोप प्रत्यारोप गर्ने गरेका छन् । अमेरिकाले युक्रेनमा रसियाली सैनिक रहेको बताएको छ । तर रसियाले भने सो विषयमा प्रतिवाद गर्दै अमेरिकाले पनि युक्रेनलाई भित्री रूपमा सहयोग पु¥याउँदै आएको बताएको छ ।
युक्रेनको पूर्वी भागमा विगतका केही समयदेखि रसियाली समर्थित विद्रोहीहरूले विद्रोह गरिआएका छन् । उनीहरूले रसियाली भाषीहरूको बाहुल्य रहेको उक्त भू–भाग पनि रसियामा मिलाउनुपर्ने माग गर्दै आएका छन् । तर युक्रेनले भने सो मागमा कहिल्यै पनि समर्थन गर्न नसकिने बताउँदै आएको छ । सोही कारण सो क्षेत्रमा विद्रोह जारी रहेको बताइएको छ ।
सो विद्रोहका कारण कम्तीमा ६ हजार जनाको ज्यान गएको छ । मारिनेमा विद्रोही र युक्रेनी सेना परेका छन् । एक वर्षभन्दा लामो समयदेखि विद्रोह जारी रहेको सो क्षेत्रमा हजारौं नागरिक अंगभंग भइ बाँचेका छन् । गत महिनादेखि त्यहाँ दुवैतर्फ युद्धविराम भएको छ । तर जारी युद्धविरामका क्रममा पनि सो क्षेत्रमा केही सर्वसाधारण नागरिक मारिएका छन् । विद्रोहीले समय समयमा युक्रेनी सेनामाथि हमला गर्ने गरेका छन् ।

प्रतिक्रिया