चीन नेतृत्वको नयाँ बैंकमा नर्वेसहित ५७ देश सहभागी

China-led-Bankबेइजिङ, ३ वैशाख । चीनले प्रस्ताव गरेको नयाँ बैंकमा संस्थापकका रूपमा रहन विश्वका ५७ देश तयार भएका छ । चीनले दिएको जानकारीअनुसार प्रस्ताव स्वीकार गर्ने देशको पछिल्लो सूचीमा नर्वे छ । नर्वेले देशले प्रस्ताव स्वीकार गरेपछि उक्त बैंकमा रहने संस्थापक सदस्यको संख्या ५७ पुगेको हो । यसअघि चीनको जेलमा बन्दी जीवन बताइरहेका एक अधिकारवादी लेखकलाई नोबल शान्ति पुरस्कार दिइएपछि चिसिएको चीन र नर्वेबीचको सम्बन्ध सुध्रिएको अनुमान धेरै विश्लेषकले गरेका छन् ।

चीन सरकारले एसियाली पूर्वाधार विकास बैंकको स्थापनाको प्रस्ताव गरेको थियो । सो बैंकको प्रस्ताव चीन सरकारले गरेपछि विश्वका कतिपय देशले भने त्यस प्रस्तावलाई अस्वीकार पनि गरेका छन् । यी ५७ संस्थापक सदस्यमध्ये संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँचमध्ये चारवटै सदस्यले प्रस्ताव स्वीकार गरेका छन् । तर, यसको संयुक्त राज्य अमेरिकाले भने विरोध गरेको थियो । युरोपेली युनियनका २८ वटा सदस्य राष्ट्रमध्ये यस बैंकमा १४ वटा देश बसेका छन् । त्यसैगरी आर्थिक सहयोग तथा विकास संंगठनमध्येबाट २१ वटा देशले सो बैंकको सदस्यता लिएका छन् । उक्त संगठनमा विश्वका ३४ देश सदस्य रहेका छन् । विश्वका बढीभन्दा बढी देशलाई सो बैंकको संस्थापक सदस्यका रूपमा सम्लग्न गराउन खोजिरहेको चीनले सो संगठनका ३४ मध्ये २१ सदस्य बन्नुलाई सफल भनेको छ । यो बैंकमा बस्न संयुक्त राज्य अमेरिकाले अस्वीकार गरेपछि जापानले पनि त्यसमा नबस्ने निर्णय गरिसकेको छ । तर, अमेरिका नजिकका भनिएका राष्ट्रहरू फ्रान्स, बेलायत, जर्मनी, अस्ट्रेलियाले भने सो बैंकको संस्थापकमा बस्ने निर्णय गरेका छन् ।
यसलाई एसियाली विकास बैंकको मुख्य प्रतिस्पर्धी बैंकका रूपमा लिइएको छ । जापानको उक्त बैंकमा धेरै लगानी रहेकाले पनि चीनद्वारा प्रस्तावित यस बैंकमा बस्न अस्वीकार गरेको हुनुपर्ने विश्लेषकको भनाइ छ । त्यसैगरी, अमेरिकाको पनि विश्व बैंकमा धेरै लगानी रहेको छ । चीनद्वारा प्रस्तावित बैंकलाई विश्व बैंकको पनि प्रतिस्पर्धीका रूपमा हेर्न सकिने भन्दै यसमा अमेरिकाले समर्थन नजनाएको हुन सक्ने अनुमान गरिएको छ । विश्व बैंकमा अमेरिकाको धेरै लगानी रहेको छ । तर, यस विषयमा अमेरिकाको भनाइ भने आएको छैन । उसले अहिलेसम्म विनाकुनै टिप्पणी चीनद्वारा प्रस्तावित बैंकमा नबस्ने मात्र बताउँदै आएको छ । तर, चीनले भने यो बैंक त्यस्तो कुनै पनि राष्ट्र वा वंैकसँगको प्रतिश्पर्धाका लागि नभई समावेशी र खुला रूपमा स्थापना गर्न लागिएको बताएको छ । उसले विश्वका सबै देशलाई सदस्यताका लागि आह्वान पनि गरेको थियो । यो आवेदनको समय यसै साता सकिएको छ र बुधबार चीनले संस्थापक ५७ देश रहेको तथ्य जानकारी गराएको छ ।

प्रतिक्रिया