उच्चमाविको परीक्षामा सात लाख सहभागी

HSEBकाठमाडौं, १ वैशाख । उच्चमाध्यमिक परिषद् सानोठिमी भक्तपुरले सञ्चालन गर्ने कक्षा ११ र १२ मा करिब ७ लाख विद्यार्थी सहभागी हुँदैछन् । प्लस टुको नियमित र एक्जाम्टेडतर्फ ७ लाख २० हजार ३ सय ४९ विद्यार्थी सहभागी हुने परिषद्ले जनाएको छ ।

२० वैशाखदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा ३ लाख ५० हजार ४२ विद्यार्थी र १ जेठदेखि सञ्चालन हुने कक्षा ११ को परीक्षामा ३ लाख ७० हजार ३ सय ७ सहभागी हुने परिषद्की परीक्षा नियन्त्रण कार्यालयकी उपनियन्त्रक जयन्ती सत्यालले बताइन् ।
कक्षामा १२ मा रेगुलरतर्फ २ लाख ३१ र एक्जाम्टेडतर्फ १ लाख ५० हजार ११ विद्यार्थी सहभागी हुने बताइएको छ । यस्तै, कक्षा ११ को रेगुलरतर्फ २ लाख ४३ हजार ८ सय २८ र एक्जाम्टेडतर्फ १ लाख २६ हजार ४ सय ७९ विद्यार्थी सहभागी हुनेछन् ।
वैशाख तेस्रो साताबाट हुने परीक्षाका लागि परिषद्ले तयारी अन्तिम चरणमा पुर्‍याएको छ । ‘प्रश्नपत्र छपाइ र प्याकिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको छ,’ उपनियन्त्रक सत्यालले भनिन्, ‘टाढाको लागि प्रश्नपत्र वैशाख ३ गतेबाट पठाउन सुरु गर्छौँ ।’ उपनियन्त्रक सत्यालका अनुसार परीक्षा सञ्चालनका लागि परिषद्ले ९ सय परीक्षाकेन्द्र तोकेको छ । उनले उपत्यकाबाहिर ७ सय ७७ परीक्षा केन्द्र तोकिसकेको जानकारी गराउँदै उपत्यकामा पर्सिसम्म तोकिसकिने बताइन् । उनका अनुसार उपत्यकामा १ सय ४० परीक्षा केन्द्र हुनेछन् ।
जिल्लामा ६ सदस्यीय परीक्षा समिति
परिषद्ले पहिलोपटक जिल्लास्तरमा ६ सदस्यीय परीक्षा समिति गठन गरेको छ । जिल्लास्तरमा थप ३ सुरक्षाकर्मीलाई परीक्षा समितिमा ल्याइएको उपनियन्त्रक सत्यालले जानकारी गराइन् । उनका अनुसार सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान प्रमुखलाई जिल्लास्तरीय परीक्षा समितिमा ल्याइएको छ । यसअघि प्रमुख जिल्ला अधिकारी, शिक्षा अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारी दिइएको थियो । ‘केन्द्रमा उहाँहरूलाई पहिले नै राखेका थियो,’ उनले भनिन्, ‘जिल्लाको पनि राख्दा थप सुरक्षा हुन्छ भनेर यसपटकबाट उहाँहरूलाई समितिमा ल्याएका हाँै ।’ केन्द्रस्तरीय परीक्षा समितिमा ती तीन सुरक्षा अधिकारीलाई पहिले नै राखिएको थियो ।
पौने दुई लाख विद्यार्थी गायब
प्लस टुमा पौने दुई लाख विद्यार्थीबीचमै हराएका छन् । रजिस्ट्रेसन फारम भरेका तथा परीक्षा फारम नभरेका १ लाख ७६ हजार ८ सय २१ विद्यार्थी गायब भएका छन् । कक्षा १२ मा ९२ हजार ४ सय १३ र कक्षा ११ मा ८४ हजार ४ सय ८ विद्यार्थीले बीचमै गायब भएको सत्यालले जानकारी गराइन् । ‘रजिस्ट्रेसन फारम भरेर बीचमै छाड्ने विद्यार्थी धेरै देखिए,’ उनले भनिन्, ‘बर्सेनी यस्तै हुन्छ । यसको कसैले सोधखोज गरेको छैन ।’ सत्यालले विदेश जाने भए पनि यतिधेरै संख्यामा नजानेको गरेको बताउँदै धेरैले घरमा अन्य रोजगारीमूलक कार्यमा लाग्नसक्ने बताइन् ।

प्रतिक्रिया