जाजरकोटमा स्रोत कक्षाहरू घट्दो अवस्थामा

Nepali Studentजाजरकोट, २० चैत । जाजरकोट जिल्लाका विभिन्न स्थानमा रहेका समाहित स्रोत कक्षाहरू प्रचार–प्रसार र महत्वबोध अभावका कारण घट्दो अवस्थामा पुगेका छन् ।

सञ्चालित स्रोत कक्षाहरूमा अध्ययनरत विद्यार्थीको सङ्ख्या घट्दै गएर शून्य विद्यार्थी सङ्ख्या हुन थालेपछि घट्दो अवस्थामा पुगेका हुन् ।

बहिरा तथा सुस्त श्रवण स्रोत कक्षा जिल्लाको त्रिभुवन निमावि खलङ्गा–६ रिसाङ र जनविकास मावि सुवानाउलीमा केही वर्षयतादेखि सञ्चालनमा आएका छन् ।

उक्त विशेष कक्षामा कान नसुन्ने बहिरा, मुख गन्हाउने र सुस्तःमनस्थितिका बालबालिकालाई शिक्षा दिने गरिएको छ ।

पाँच विद्यार्थी सङ्ख्या रहेको जनमावि सुवानाउलीमा विद्यार्थी सङ्ख्या घट्दै शून्यमा झरेपछि स्रोत कक्षा नै सञ्चालनमा आउन सकिरहेको छैन । उक्त स्रोत कक्षालाई जिल्लाको अर्को विद्यालयमा सार्न सकिने जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार जनविकास मावि सुवानाउलीमा रहेको स्रोत कक्षामा अध्यापन गराउने शिक्षक लालबहादुर डाँङी हुन् ।

त्यसैगरी त्रिभुवन निमावि रिसाङमा बहिरा तथा सुस्त श्रवण स्रोत कक्षा सञ्चालन भएको १० वर्ष बितिसकेको छ । २०६१ देखि सञ्चालन भएको उक्त कक्षामा हाल जम्मा ६ जना मात्र विद्यार्थी रहेका छन् ।

उक्त विशेष कक्षाका शिक्षक अशोकविक्रम शाहले दिनुभएको जानकारीअनुसार हाल नायकवाँडा, कालीखोलाका हरिबहादुर भण्डारी, पुन्म मिथ्याङग्राका कर्णबहादुर वली, डाँडागाउँ पालीका परिमल पुन, डाँडागाउँ पालीकै जयराम परियार, खलङ्गा राङसीकी सरस्वती वली र ढिमे समाइलाकी बालिका घर्ती रहेका छन् ।

कान नसुन्ने, मुख गन्हाउने र सुस्तःमनस्थितिका बालबालिकालाई स्रोत कक्षामा साङ्केतिक भाषा र औँला हिज्यका माध्यमबाट पढाइने शिक्षक अशोकविक्रम शाहले बताए ।

‘आफूले नै धेरै विद्यार्थीलाई कक्षा ५ सम्म पढाएर सुर्खेत पठाइसकेको छु’, शिक्षक अशोकविक्रम शाहले भने, ‘प्रचार–प्रसार अभावका कारण विद्यार्थी सङ्ख्यालाई विशेष कक्षामा समाहित गर्न सकेका छैनौँ र बालबालिकाप्रति अभिभावकहरूको महत्व बोध नहुँदा पनि स्रोत कक्षाको वास्तविक परिणाम देखिन सकेको छैन ।’

प्रतिक्रिया