क्षतिका हिसाबले नेपालको भूकम्प निकै ठूलो मानिए पनि विश्वका अन्य राष्ट्रमा आएको भूकम्पको स्केलको तुलनामा नेपालको भूकम्पलाई खास दर्दनाक मानिएको छैन । अव्यवस्थित बसोबासका कारण पनि काठमाडौंमा भूकम्पका कारण धेरै मानिसले ज्यान गुमाएका छन् । काठमाडौंबाहेक बाँकी जिल्लामा कच्ची घरहरू धेरै भत्किएका छन् । लाखौँ मानिस घरबारविहीन छन् भने हजारौँ घाइते छन् । संयुक्त राष्ट्रसंघले यस भूकम्पबाट झन्डै ८० लाख जनसंख्या प्रभावित भएको जनाएको छ । तर, सबै तथ्यांकका बाबजुद नेपालमा भन्दा ठूलो कम्पनका भूकम्पहरू अन्य राष्ट्रमा आएको इतिहास छ । अहिलेसम्म चिलिमा सर्वाधिक ९ दशमलव ५ रेक्टर स्केलसम्मको भुइँचालो आएको इतिहास छ ।
सन् १९६०, भाल्डिभिया चिली
चिलिमा मे २२ का दिन आएको ९ दशमलव ५ रेक्टर स्केलको भूकम्पमा १६ सय ५५ जनाले ज्यान गुमाएका थिए । त्यस्तै तीन हजार घाइते भए भने २० लाख जनसंख्या भूकम्पबाट प्रभावित भए । पाँच सय ५० मिलियन अमेरिकी डलर बराबरको क्षति भयो । जापान, हवाई र फिलिपिन्समा गएको सुनामी बराबरकै क्षति यस भूकम्पले गराएको थियो । मानिसहरूको बसोबास रहेको स्थानभन्दा एक हजार किलोमिटर पर केन्द्रविन्दू परेका कारण खास ठूलो क्षति भने भएन । सुरुआति धक्का महसुस भएको दुई दिनपछि ज्वालामुखीसमेत निस्किएको थियो ।
अलास्का २८ मार्च, १९६४
अमेरिकामा आएको ९ दशमलव २ रेक्टरस्केलको भूकम्पले खास ठूलो क्षति भने गराएन । यस भूकम्पमा १ सय २८ जनाले ज्यान गुमाए । विशेषगरी अलास्का र क्यानडाका केही भू–भागमा यसको प्रभाव प्रत्यक्ष देखिएको थियो । भूकम्पमा तीन सय ११ मिलियन अमेरिकी डलर बराबरको क्षति भयो । यसै भूकम्पपछि आएको सुनामी छालले हवाइमा ठूलो क्षति पु¥याएको थियो । भनिन्छ, त्यतिबेला तीन मिनेटसम्म सुरुआती भूकम्पको धक्का महसुस भएको थियो ।
सुमात्रा, इन्डोनेसिया २००४
डिसेम्बर १६ का दिन आएको ९ दशमलव १ रेक्टर स्केलको यो भूकम्प क्षतिका हिसाबले सबैभन्दा ठूलो भूकम्प मानिन्छ । बक्सिङ डेका दिन आएको यस विनाशकारी भुइँचालोले दुई लाख २७ हजार नौ सयको ज्यान लिएको थियो । भूकम्पबाट प्रभावित भएपछि झन्डै १७ लाख मानिस दक्षिण एशिया तथा पूर्वी अफ्रिकाका विभिन्न १४ देशमा विस्थापित भएका थिए । इन्डोनेसियाको ब्यान्ड एइचबाट दुई सय ५० किलोमिटर पर केन्द्रविन्दू पारेर भूकम्प आएको थियो । केही दिनपछि त्यसै भूकम्पको प्रभावस्वरूप इन्डोनेसियामा ज्वालामुखीसमेत बिस्फोट भयो ।
सेन्डाई, जापान २०११
मार्च ११ मा आएको ९ रेक्टर स्केलको यस भूकम्पको झड्कापछि सुनामी आएको थियो । घटनामा मृत्यु हुनेको यकिन विवरण अभै आउन सकेको छैन् । तर, यस घटनामा कम्तिमा पनि १० हजारले ज्यान गुमाएको बताइएको छ । यस घटनापछि आर्थिक रूपमा सेन्डाई निकै कमजोर भएको थियो । भूकम्पका कारण आणविक केन्द्रहरू ध्वस्त हँदा धेरैले ज्यान गुमाए ।
कामचट्का, रसिया १९५२
नोभेम्बर ४ तारिखका दिन आएको यस भूकम्पपछि हवाई आसपासका टापूहरूमा सुनामी गएको थियो । भूकम्पमा ठूलो क्षति भए पनि कसैको पनि ज्यान गएको तथ्यांक सार्वजनिक भएन । भूकम्पपछि १० करोड अमेरिकी डलर बराबरको क्षति भएको थियो । केइना प्वाइन्टस्थित ओअअूमा एक किसानले पालेका ६ वटा गाई बगे पनि कसैको मृत्यु भएको रिर्पोट सार्वजनिक भएन ।
इक्वेडर कोस्ट, १९०६
जनवरी ३१ का दिन आएको यस सुनामीमा कोलम्बिया र इक्वेडरका समेत गरी झन्डै दुई हजारले ज्यान गुमाएका थिए । भूकम्पपछि आएको सुनामीले अमेरिकाको सान फ्रान्सिस्कोदेखि जापानका केही भूभागमा समेत प्रभाव पारेको थियो । सुनामीले १२ घन्टासम्म हवाईस्थित हिलो टापुमा वितण्डा मच्चाएको थियो ।
र्याट आइल्यान्डस्, अलास्का
अप्रिल २, १९६५ मा आएको ८ दशमलव ७ रेक्टर स्केलको भूकम्प सुनामीका कारण आएको थियो । यस घटनामा झन्डै १० हजार अमेरिकी डलर बराबरको क्षति भयो । तर, ८ दशलमव ७ रेक्टर स्केलका भूकम्पपछि मृतक र घाइतेको संख्या भने उल्लेख छैन ।
सुमात्रा, इन्डोनेसिया २००५
२८ मार्चमा सुमात्रामा आएको ८ दशलमव ६ रेक्टर स्केलको यस भूकम्पमा एक हजार तीन सय १३ जनाले ज्यान गुमाएका थिए । घटनामा चार सयभन्दा बढी व्यक्ति सुनामीका कारण घाइते भए । भूकम्पको केन्द्रविन्दु सिवोल्गामा थियो, जुन सुमात्राबाट दुई सय पाँच किलोमिटर पर छ ।
आसाम–तिब्बत १९५०
८ दशमलव ६ रेक्टर स्केलको यो भूकम्पबाट थुप्रै भवन भत्किएका थिए । पूर्वी तिब्बतमा भूकम्पका कारण सात सय ८० जनाले ज्यान गुमाए । आसाम, चीन, तिब्बत, भारत, नेपाललगायतका गाउँ तथा सहर यस भूकम्पको प्रभावमा परेका थिए । यस भूकम्पमा ज्यान गुमाउनेको यकिन संख्या भने अभै सार्वजनिक भएको छैन ।
वायो–वायो, चिली २०१०
फेब्रुअरी २७ मा आएको ८ दशमलव ८ रेक्टर स्केलको यस भूकम्पपछि आएको सुनामीमा परेर पाँच सय २१ जनाले ज्यान गुमाए । ५६ जना बेपत्ता भए भने १२ हजार घाइते भए । झन्डै आठ लाख मानिस बेपत्ता भए र चिली आसपास १८ लाख मानिस प्रभावित भए । सान्टियागोबाट तीन सय ३५ किलोमिटर पर भूकम्पको केन्द्रविन्दु रहेका कारण क्षति कम भएको थियो ।
प्रतिक्रिया