गोर्खाली भर्नाको २ शताब्दी

Gorkhaकाठमाडौं, १२ वैशाख । बेलायती सेनामा नेपालीले प्रवेश पाएको दुई सयौँ वर्षगाँठ भारतसहित पूर्वबेलायती उपनिवेशअन्तर्गतका थुप्रै देशमा शुक्रबार भव्यतापूर्वक मनाइएको छ । नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीचको युद्धपछि सन् १९८४ मा बेलायत सरकारले गोर्खालीलाई सेनामा भर्ना गर्ने सहमति गरेको थियो । सहमति बमोजिम इस्ट इन्डिया कम्पनीको उपनिवेश भारतमा सन् १९८५ अप्रिल २४ तारिखका दिन गोर्खाली सेनालाई पहिलोपटक प्रवेश गराइयो । तत्कालीन समयमा भारतमा मात्र अस्तित्वमा रहेको गोर्खा पल्टन अहिले बेलायतमा पनि छ ।

हाल पनि थुप्रै नेपाली युवाका लागि भारतीय तथा बेलायती सेनाको जागिर नाम, प्रतिष्ठा र आर्थिक दृष्टिकोणले समेत रवाफिलो साबित हुँदै आएको छ । अहिले पनि विश्वकै सबैभन्दा खतरनाक सैन्य दस्ताका रूपमा गोर्खाली सेनालाई चिनिन्छ । भारतको इतिहासकै अहिलेसम्मका सबैभन्दा ठूला सैनिक कमान्डर मानिएका इस्ट इन्डिया कम्पनीका फिल्ड मार्सल साम मानेकसाले एकपटक मुक्तकण्ठले गोर्खाली सेनाको प्रशंसा गर्ने क्रममा भनेका थिए, ‘यदि कसैले मृत्युसँग डर लाग्दैन भन्दछ भने या उसले झुठो बोलेको हुनुपर्छ वा ऊ गोर्खाली हुनुपर्छ’ । सन् १९८४ मा बेलायती सेनाले पहिलोपटक गोर्खालीको बहादुरी देखेको थियो । नेपाल र तत्कालीन भारतमा उपनिवेश चलाएको इस्ट इन्डिया कम्पनीबीचको युद्धमा गोर्खाली सेनाले देखाएको बहादुरी नै बेलायत र भारतमा नेपाली युवालाई भर्तीको आशा देखाउने बाटो बन्यो ।
चलाख बेलायती सेनाले गोर्खालीसँग युद्ध गर्नुको सट्टा गोर्खालीलाई नै उपयोग गरेर अन्य युद्ध जित्ने योजना बनाएको थियो । नेपालले सम्झौतापछि आफ्ना महत्वपूर्ण भू–भाग बेलायती सेनालाई सुम्पेको थियो । अप्रिल २४, १८८५ मा भारतको हिमाञ्चल प्रदेशस्थित सुवाठू सहरमा गोर्खाली सेनाले पहिलोपटक आफ्नो अस्तित्व देखायो । त्यसयता, गोर्खालीहरू बेलायतका प्रत्येक सफलताका पछाडि कारक बने । आयो गोर्खाली भन्ने नेपाली नारा र खुकुरीको प्रयोग गोर्खाली सेनाको पहिचान बनेको छ । अधिकांश गोर्खाली नेपालको पहाडी तथा पूर्वी क्षेत्रबाट छन् । विशेषगरी गुरुङ, मगर, राई र लिम्बू जातिका लागि गोर्खाली सेनाको जागिर सर्वाधिक महत्वपूर्ण सावित हुँदै आएको छ । दुई विश्वयुद्धका दौरान दुई लाखभन्दा बढी नेपालीले बेलायती सेनाका लागि लडेका थिए । त्यसमध्ये ४३ हजारले आफ्नो ज्यान गुमाएका छन् । बेलायतबाट भारत स्वतन्त्र भएपछि गोर्खाली सेनाको पल्टन पनि विभाजित भएको थियो । त्यसपछि अहिले पहिलो, तेस्रो, चौथो, पाँचौ, आठौँ, नवौँ र एघारौँ गोर्खा पल्टन भारतमा रह्यो भने दोस्रो, छैटौँ, सातौँ र दसौँ गरी चार वटा गोर्खा पल्टन बेलायती सेनामा कायम रह्यो । सन् १९९४ मा बेलायती सरकारले चार वटा गोर्खा पल्टनलाई एउटै पल्टन बनाएको थियो । बेलायतका लागि गोर्खालीले प्रत्येकपटक लडेका छन् । पछिल्लोसमय चीन, इराक र अफगानिस्तान विरुद्धको युद्धमा गोर्खालीले बहादुरी देखाएका थिए । पछिल्लो समय बेलायती सेनामा गोर्खालीको संख्या भने घट्दै छ । सन् २०१० मा आइपुग्दा बेलायती सेनामा केबल तीन हजार पाँच सय मात्रै गोर्खाली सेना बाँकी थिए । अहिले बेलायती सरकारले वर्षमा केवल दुई सय गोर्खालीलाई मात्रै प्रवेश दिने नीति बनाएको छ, जुन बेलायती सेनामा हुने वार्षिक भर्तीको तीन प्रतिशत हो ।
सन् २००९ मा गोर्खालीले बेलायतमा अवकाशपछि बस्ने पाउने गरी मुद्दा लडेका थिए । अहिले उनीहरूसँग बेलायती नागरिक बन्न पाउने अधिकार छ । बेलायती सेनाका दुई सय वर्षे यात्रालाई विभिन्न सञ्चारमाध्यमले प्रथामिकतामा राखेका छन् । गोर्खाली सेनाले देखाएको बहादुरी तथा त्यागलाई सम्मान गर्नुपर्ने बताउँदै सञ्चारमाध्यमले दुई सय वर्षगाँठ भव्य रहने भविष्यवाणी गरेका थिए । बेलायती सरकारले समेत दुई सयौँ वर्षगाँठलाई महत्व दिएको छ । कम्तिमा पनि एक गोर्खाली सेनालाई सगरमाथा आरोहणमा लैजाने नीति समेत बेलायती सेनाले बनाएको छ । त्यस्तै दुई सयौँ वर्षगाँठकै अवसरमा गोर्खाली सेनाका थुप्रै शालिक निर्माण गरिने समेत सरकारले बताएको छ । गोर्खाली सेनाको सम्मानमा महारानी एलिजावेथसहित राजकुमार ह्यारी र राजपरिवारका अन्य थुप्रै सदस्यले समेत चासो दिएका थिए । गोर्खा वेलफेयर ट्रस्टले दुई सयौँ वर्षगाँठको अवसरमा लन्डनस्थित शाही अस्पतालमा भव्य कार्यक्रम ग¥यो । ट्रस्टले बेलायतभर नै अन्य विभिन्न कार्यक्रमसमेत आयोजना गरेको थियो । त्यसका लागि लामो समयदेखि तयारी गरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
गोर्खाली सेना बेलायतका लागि किन महत्वपूर्ण ?
नेपालको सवालमा आर्थिक दृष्टिकोणले बेलायती सेनाको जागिर प्रतिष्ठित मानिए पनि बेलायतका लागि भने गोर्खाली सेना सुनको अन्डा पार्ने कुखुरा सावित हँदै आएको छ । आफ्नो डरलाग्दो छविका कारण गोर्खालीले शत्रुको समेत मन जितेका छन् । भारतीय सेनामार्पत अस्तित्वमा आएका गोर्खालीहरू बेलायतको सफलताका प्रमुख हतियार रहे । उनीहरूले विश्वका थुप्रै सैन्यदस्तालाई पराजित गरिसकेका छन् । भारतीय सेनामा प्रवेश हुदाँका बेला गोर्खा पल्टनका नाममा नेपालीको परिचय थिएन । उनीहरू नासिरी पल्टनमा समाहित थिए । पछि गोर्खालीको विपक्षी सेनासँग भिड्न सक्ने खुबीका कारण उनीहरूलाई छुट्टै परिचय दिइयो । नयाँ पल्टनको नाम राजा जर्जको आफ्नै गोर्खा राइफल थियो । बेलायतबाट भारत स्वतन्त्र भएपछि बेलायत जान नचाहने गोर्खा सैनिकका लागि भारत सरकारले ११ गोर्खा राइफल्स स्थापना गरेको थियो ।
त्यसअघि बेलायती सेनामा १० वटा मात्रै गोर्खा राइफल्स थिए । गोर्खालीले अहिलेसम्म तीन वटा पदमवीर चक्र, ३३ वटा महावीर चक्र तथा ८४ वटा वीर चक्र पुरस्कार स्वरूप पाइसकेका छन् । गोर्खाली सेनाका प्रत्येक पल्टनमा खुकुरीलाई चिनारीका रूपमा लिइएको छ । गोर्खाली सेनाको पल्टनमा दसैँका समयमा राँगो काट्ने प्रचलन अहिले पनि बेलायत र भारतमा छ । खुकुरीले एकै मारमा राँगो काटेर बली दिने प्रचलन गोर्खाली सेनामा परम्पराका रूपमा कायम छ । पल्टनको कान्छो सदस्यले प्रायः यस्तो काम गर्छन् । (एजेन्सीको सहयोगमा)
केही रोचक भनाइ
भनिन्छ, अर्जेन्टिनाका चर्चित खेलाडी डिएगो म्याराडोनाले गोर्खालीकै कारण फकल्यान्ड युद्ध हार्नुपरेको बताएका थिए । उनले खुलेयाम भने वा भनेनन्, तर यदि भनेका हुन् भने उनले साँचो भनेका थिए ।
बेलायतका चर्चित फुटबलर वायनी रुनीले गोर्खालीलाई सुरक्षागार्डका रूपमा राखेका छन् । रुनी मात्रै होइन बेलायतका चर्चित सेलिब्रेटीहरू सुरक्षाको जिम्मा गोर्खालीलाई दिन हतारिन्छन् । बेलायतमा गोर्खालीको इमानदार र कसैसँग नझुक्ने स्वभावको सम्मान गरिन्छ । एकपटक हिटलरले गोर्खालीहरू साथमा भएको भए विश्व विजेता बन्न आपूलाई कसैले रोक्न नसक्ने बताएका थिए ।
ओसामा बिन लादेनले आफ्नो समूहमा गोर्खाली भएको भए अमेरिकीलाई जिउँदै खाइदिने चेतावनीसमेत दिएका थिए । आफ्नै विरुद्धमा भिड्ने गोर्खाली सेनाको तारिफ गर्ने उनीहरू एक्लो भने होइनन् । भारत–पाकिस्तान युद्धपछि एक पाकिस्तानी जनरलले आफ्नो पक्षमा गोर्खा भएको भए निर्धक्कसाथ दिल्लीमा डिनर गर्नसक्ने बताएका थिए । बेलायतका राजकुमार चाल्र्सले गोर्खाली सैनिकका विषयमा दिएको अभिव्यक्ति अभै चर्चित छ । उनले भनेका छन्, संसारमा कुनै पनि स्थान त्यतिबेला मात्रै सुरक्षित रहनसक्छ जतिबेला हामी गोर्खालीको
माझमा हुन्छौँ ।

प्रतिक्रिया