काठमाडौं । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका मुलुकमा गरिँदै आएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट’ अब नेपालमा पनि हुने भएको छ ।
नेक्स्ट मोडल नेपालले मोडलिङ पेसालाई थप व्यावसायिक एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयाम थप्ने उद्देश्यले नेपालमै पहिलोपटक ‘मोडल हन्ट नेपाल २०१५’ आयोजना गर्न लागेको हो ।
संस्थाका अध्यक्ष रवि धमलाका अनुसार नेपालीमूलका युवायुवतीको प्रतिभालाई प्रोत्साहित गर्दै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तर्राष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
‘युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र नेतृत्वदायी क्षमताको विकास गरी अन्तर्राष्ट्रियस्तरको मोडल बन्न कार्यक्रमले सहयोग पु¥याउनेमा हामी विश्वस्त छौँ,’ अध्यक्ष धमलाले भने, ‘१६ देखि २८ वर्ष ननाघेका नयाँ युवायुवतीले सहभागिता जनाउन पाउनेछन् ।’
राजधानीसहित पोखरा, विराटनगर, चितवन, धरानलगायतका स्थानमा वैशाख तेस्रो साताबाट पहिलो चरणको अडिसन हुनेछ ।
अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि एक महिने प्रशिक्षण दिइनेछ ।
उनीहरूलाई अन्तर्राष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजेभीजे, अन्तर्राष्ट्रिय फोटोग्राफी एवं फोटो सुट, सञ्चार, कला, स्टेज परफरमेन्सलगायतका विषयमा दक्ष व्यक्तित्वहरूद्वारा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि आयोजकले आवेदन फाराम खुलाइसकेको छ ।
प्रतियोगिताको विजेताले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ, फिल्म, म्युजिक भिडियो र विज्ञापनमा अभिनयको अवसरसहित अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् । (सौस)
प्रतिक्रिया