इस्लामावाद, ९ वैशाख । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन सधैँ पाकिस्तानकै पक्षमा रहेको र पाकिस्तान चीनको एक घनिष्ट छिमेकी रहेको धारणा राखेका छन् ।
उनले चीन र पाकिस्तानका नागरिक सधैँजसो एकसाथ अघि बढ्ने गरेको भन्दै आगामी दिनमा पनि यसरी एकसाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ । हाल पाकिस्तानको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार सो धारणा राखेका हुन् । मंगलबार पाकिस्तानी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति जिनपिङले सो धारणा राखेका हुन् । उनले पाकिस्तान चीनको एक विश्वासिलो छिमेकी राष्ट्र हो भन्दै यी दुई देशको आपसी विश्वास र पारस्पारिक सहयोगमा आगामी दिनको सम्बन्ध आधारित रहने बताए ।
पाकिस्तानले आतंकवादविरुद्ध गर्नुपरेको संघर्षको प्रशंसा गर्दै उनले चीन सधैँ पाकिस्तानले गर्नुपरेको आतंकवाद विरोधी संघर्षको पक्षमा रहेको र सक्दो सघाइरहेको पनि बताए । चीन सधैँ पाकिस्तानको क्षेत्रीय अखण्डताको पक्षमा रहेको भन्दै चीन र पाकिस्तानले विगत लामो समयदेखि नै एकले अर्कालाई आवश्यकताका आधारमा सहयोग गर्दै आएको पनि राष्ट्रपति जिनपिङले बताए ।
संसद्लाई सम्बोधन गर्ने क्रममा चिनियाँ राष्ट्रपतिले पाकिस्तानले अफगानिस्तानको आतंकवाद नियन्त्रणका लागि चालेको सिर्जनात्मक कदममा सधैँ सहयोग गरिरहेका बताए । राष्ट्रपति जिनपिङले चीन पाकिस्तानको एक ठूलो छिमेकी देश हो भन्दै शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया नै चीनको चासो रहेको बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङ दक्षिण एसियाको दोस्रो ठूलो देश पाकिस्तानको भ्रमणका लागि सोमबार त्यहाँ पुगेका हुन् । पाकिस्तानमा यो उनको पहिलो औपचारिक भ्रमण हो । उनले पाकिस्तानका लागि चीन सरकारका तर्फबाट आर्थिक सहायताको पनि वाचा गरेका छन् । उनी मंगलबार अपराह्न बाङडुङ सम्मेलनमा सहभाग लिन इन्डोनेसिया प्रस्थान गरे ।
प्रतिक्रिया