गोल्डकपमा इलामको जित

photo_4इलाम, ८ वैशाख । माइभ्याली फुटबल क्लब मंगलबारेमा जारी ‘लन्डन आइस मंगलबारे अन्तर्राष्ट्रिय गोल्डकप’ को अघिल्लो चरणमा प्रवेश गरेको छ । सोमबारको खेलमा धनकुटा फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पाखा लगाउँदै इलाम विजयी भएको हो ।

निर्धारित समयमा दुवै टिमबाट १-१ गोल भई खेल बराबरीमा सकिएपछि अतिरिक्त खेलाइएको थियो । अतिरिक्त समयमा समेत गोल नभई बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरको आधारमा हुनेछ । टाइब्रेकरमा इलामले एक गोल बचाएका थिए भने धनकुटाको एक प्रहार बाहिर गएको थियो ।
मध्यान्तर अघिसम्म गोलरहित बराबरी खेलेको दुवै टिम मध्यान्तरपछि भने आक्रमक भएका थिए । ५४औँ मिनेटमा इलामका स्ट्राइकर प्रदीप विष्टले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । विपक्षीका दुई खेलाडीलाई पार गर्दै बल अगाडि बढाएका विष्टले डि–बक्स छेउबाट गरेको प्रहारले गोलको दिशा लिएको थियो ।
त्यो अग्रता सात मिनेट पनि टिक्न सकेन । आक्रामक खेल प्रदर्शन गरेको धनकुटाले ६१औँ मिनेटमा गोल गरी खेललाई बराबरीमा ल्याउन सफल बन्यो । धनकुटाका लागि स्ट्राइकर वर्तमान राईले गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलमा दुवै टिमले विपक्षीको पोलमा आक्रमण जारी राख्यो । गोल हुन सकेन । निर्धारित र अतिरिक्त समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो ।
मंगलबारको खेल सिक्किम केएपसी भारत र सुनसरी फुटबल क्लबबीच हुने आयोजक त्रिवेणी युथ क्लबले जानकारी दिएको छ ।
त्रिवेणी युथ क्लव र मंगलबारे उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोयितामा आठ टिम सहभागी छन् । १३ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ६१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया