ताइयुआन, ८ वैशाख । उत्तर चीनको सान्सी प्रान्तमा अवस्थित एक कोइला खानीमा पानीको भेल पसी त्यहाँ कार्यरत २४ व्यक्ति फसिरहेको जनाइएको छ । स्थानीय समयानुसार आइतबार साँझ ६ः५० मा खानीभित्र भेल पसेको कोइला खानी संस्थापकले सोमबार जानकारी दिएका छन् । फसेका कामदारहरूको खोजी र उद्धार कार्य जारी रहेको जनाइएको छ । ज्याङगजिआवाङग नामक सो कोइला खानीमा दुर्घटना भएका बखत २४७ जना कामदार कार्यरत रहेका र तीमध्ये २२३ जनालाई भने उद्धार गरिएको बताइएको छ ।
दातोङग कोल माइन गु्रपले सञ्चालन गर्दै आएको उक्त कोइला खानीको वार्षिक उत्पादन क्षमता नौ लाख टन रहेको जनाइएको छ । खानी परिसरकै नजिकै रहेको, पहिला कोइला झिकिसकिएको एउटा ठूलो खाडलमा जमेको पानीको भेल नियन्त्रण हुन नसक्दा दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट जानकारी दिइएको छ ।
प्रतिक्रिया