उच्चमाविमा पनि प्राविधिक शिक्षाको व्यवस्था गर्न निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले कक्षा ९ र १० मा प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीलाई उच्चमाध्यमिक तहमा पनि प्राविधिक विषय पढ्न पाउने व्यवस्थाका सम्बन्धमा कार्यदल गठन गरी एक महिनाभित्र प्रतिवेदन दिन शिक्षा मन्त्रालयलाई आइतबार निर्देशन दिएको छ ।
सरकारले ०६४ मा ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रमबमोजिम कक्षा ९ देखि नियमित र प्राविधिक गरी दुई धारमा पढ्न पाउने व्यवस्था गरिए पनि शिक्षा ऐनको संशोधन हुन नसक्दा प्राविधिक विषयमा उच्चमाध्यमिक शिक्षा दिन कठिनाइ देखिएपछि समितिले सो निर्देशन दिएको हो । गतमहिना प्रवेशिका परीक्षामा कुल एक सय निर्वाचन क्षेत्रका ९९ वटा प्राविधिक (एनेक्स) विद्यालयका तीन हजार दुई ८८ विद्यार्थी सम्मिलित थिए ।
समितिको आइतबारको बैठकमा यस विषयमा मन्त्रालय, सम्बन्धित निकाय र सरोकारवाला संस्थासँगको छलफलपछि सभापति रञ्जुकुमारी झाले प्राविधिक विषयमा प्रवेशिका दिइसकेका विद्यार्थीले उच्चमाध्यमिक शिक्षा लिन पाउने अधिकार सुनिश्चित गर्न र त्यसको व्यवस्थापनको गृहकार्यका लागि मन्त्रालयले समिति गठन गरी कार्ययोजनासहितको प्रतिवेदन दिन निर्देशन दिइएको बताए । बाँकी एक सय ४० वटा निर्वाचन क्षेत्रमा पनि कक्षा ९ र १० मा प्राविधिक विषय पढ्न पाउने व्यवस्था गर्न पनि निर्देशन दिइएको उनले जानकारी दिए ।
समितिमा उपस्थित मन्त्रालयका निमित्त सचिव डा. लवदेव अवस्थीले शिक्षा ऐन संशोधन भएमा कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षाको मान्यता हुने र त्यसपछि प्राविधिक शिक्षाको धारलाई संरचनात्मक रूपमा अघि बढाउन सहयोग पुग्ने बताए । (सौस)

प्रतिक्रिया