भर्नाका लागि पनि भनसुन

काठमाडौं, ७ वैशाख । सरकारी विद्यालयमा नयाँ भर्ना गर्न ‘भनसुन’ गर्नुपर्छ भन्ने सुन्दा अचम्ममा पर्नुहोला । तर, काठमाडौंका केही सरकारी विद्यालयमा निजी विद्यालयबाट बच्चा निकालेर भर्ना गर्न अभिभावकले ‘भनसुन’ गर्नुपरेको छ । निजी विद्यालयसरह गुणस्तरीय शिक्षा शुल्क नै नपर्ने भएपछि ती विद्यालयमा अभिभावक आप्mना बच्चा राख्न आकर्षित भएका हुन् । यस्तै दृश्य आइतबार रत्नराज्य माध्यमिक विद्यालयमा देखियो ।

जनकपुर वभनगा घर भई नयाँ बानेश्वर बस्दै आएका चन्दनकुमार झाले नयाँ बानेश्वरस्थित वान्डर किङ्समा पढ्दै गरेका दुई छोरीलाई भर्ना गर्न रत्नराज्यकी प्रधानाध्यापक डा. गीता खरेललाई भेटेर अनुनय गरेका हुन् । उनले रत्नराज्य विद्यालयको पढाइ आपूmले पढाइरहेको निजी विद्यालयको तुलनामा खासै भिन्न नपाएकाले दुई बच्चालाई रत्नराज्यमा भर्ना गर्न आएको बताए ।
उनले प्रधानाध्यापक खरेललाई भेटेर जसरी पनि भर्ना गरिदिन अनुरोध गर्दै भने, ‘बरु निजीमा लाग्ने शुल्क यहाँको सरसफाइ र खानेपानीमा सहयोग गर्छु ।’ उनले थपे, ‘मैले बोर्डिङ र सरकारी स्कुलको पढाइमा खासै फरक पाइनँ । त्यसैले छोरीलाई यहीँ भर्ना गर्दैछु ।’
यो त निजीबाट सरकारी विद्यालयमा बच्चा भर्ना गर्न आउने अभिभावकको उदाहरण हो । रत्नराज्य स्कुलमा निजीबाट निकालेर सरकारी विद्यालयमा भर्ना गर्न आउने अभिभावकले प्रधानाध्याक खरेलको कोठा भरिभराउ हुन थालेको छ । कतिले उनलाई फोनबाट बच्चा भर्ना गरिदिन अनुरोध गर्छन् भने कति स्कुलमा आएर भर्नाका अपिल गर्छन् ।
विद्यालय भर्नाको समयमा काठमाडौंको मध्यबानेश्रस्थित रत्नराज्य उच्चमावि, तरुण मावि बालाजु, तिलङ्गटारस्थित तिलङ्गटार मावि, बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय, मंगोलदय मावि थानकोट र बलम्बुस्थित बलम्बु माविमा अभिभावकले बालबालिका भर्नाका लागि ‘भनसुन’ नै गर्नुपरेको छ ।
‘दिनदिनै अभिभावक मेरो बच्चा राखिदिनुप¥यो भनेर भेट्न आउँछन्,’ उनले भनिन्, ‘अभैm धेरै त निजी विद्यालयबाट आएका छन् । क्षमताले भ्याएसम्म भर्ना गरेका छौँ ।’ खरेलले अन्य स्कुलमा विद्यार्थी छैनन् भनेर चिन्ता गरेको तर आपूm कार्यरत विद्यालयमा थेग्न नसक्ने गरी विद्यार्थी आउने गरेको बताइन् । सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याइरहेको रत्नराज्य अभिभावकको पहिलो रोजाइ बनेको छ । विद्यालयमा एक हजार ६ सय विद्यार्थी छन् । ‘विद्यार्थी थेग्न नसकेर प्रत्येक कक्षामा सेक्सन खोलेका छौँ,’ उनले भनिन्, ‘निजी विद्यालयजस्तै अंग्रेजी माध्यममा पढाइ हुने, शुल्क नलाग्ने र अनुशासन रहने भएकाले अभिभावकको आकर्षण बढेको पाएका छौँ ।’
रत्नराज्यमा कक्षा ९ मा ५ सेक्सन छन् । ‘विद्यार्थीको चाप बढेकाले कक्षा ९ मा ५ सेक्सनले नपुगेर अर्को सेक्सन खोल्नुपर्ने अवस्था देखिएको छ,’ खरेलले भनिन्, ‘तर, शिक्षक नपुगेर समस्या परेको छ ।’ ‘पोहोरभन्दा अहिले बढी विद्यार्थी आएका छन् । धेरैजसो निजी विद्यालयबाट भर्ना हुन आएका छन्,’ उनले भनिन्, ‘कतै हाम्रोमा आएर निजी विद्यालय सुक्ने हुन् कि भन्ने डर लाग्न थालेको छ ।’
रत्नराज्यले कक्षा एकदेखि पाँचसम्म नेपाली र अंग्रेजी दुवै माध्यममा र अन्य कक्षामा अतिरिक्त अंग्रेजी, गणित र कम्युटर कक्षा सञ्चालन गर्दै आएको छ । रत्नराज्यले ३ वैशाखमा नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिइसकेको छ । अर्को प्रवेश परीक्षा अर्को १९ वैशाखलाई तोकेको छ ।
यस्तै, ज्ञानोदय मावि बाफलका प्रधानाध्यापक नातिकाजी महर्जन यस वर्ष विद्यार्थीको चाप बढेकाले बच्चालाई राखिदिनुहोस् भनेर अभिभावकले भन्ने गरेको बताउँछन् । उनले नयाँ भर्नाका लागि २९ चैतमा प्रवेश परीक्षा र फेरि ९ वैशाखमा पुनः प्रवेश परीक्षा लिने तयारी गरिएको बताए । उनले कक्षा ८ र ९ मा बढी विद्यार्थी आउने गरेका बताए ।
कक्षा नर्सरीदेखि १० सम्म अंग्रेजीमाध्यममा पढाइ हुने विद्यालयमा कक्षा ८ र ९ मा चार सेक्सन छन् । तिलङटार माविका प्रधानाध्यापक सरोजराज पाण्डे विद्यार्थीको चापसँगै अभिभावकले बच्चा राखिदिनुप¥यो भनेर कर गरेको बताउँछन् । विद्यालयमा विद्यार्थी चाप भएपछि नयाँ भर्नाका लागि चौथो चरणको प्रवेश परीक्षा लिने तयारी भइरहेको छ । गत वर्ष एसएलसीमा ९८ प्रतिशत नतिजा ल्याउन सफल विद्यालयमा यस वर्ष विद्यार्थीको आकर्षण झनै बढेको हो ।

प्रतिक्रिया