निजी विद्यालयद्वारा शुल्कवृद्धि फिर्ता

काठमाडौं, ७ वैशाख । निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता गरेका छन् ।

आइतबार आन्दोलनरत विद्यार्थी संगठन, शिक्षा मन्त्रालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को संयुक्त छलफलपछि शुल्कवृद्धि फिर्ता भएको हो ।

शिक्षा मन्त्रालयमा भएको छलफलमा आन्दोलनरत विद्यार्थी संगठनसँग तीनबुँदे सहमति भएपछि शुल्कवृद्धि फिर्ता भएको हो । वृद्धि भएको शुल्क फिर्तासँगै विद्यार्थीले सोमबारबाट गर्ने भनिएको शैक्षिक हडताल पनि फिर्ता भएको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जानकारी दिए । ‘निजी विद्यालयले बढाएको शुल्क फिर्ता गर्ने सहमति भएको छ । पुरानै शुल्कमा भर्ना लिने सहमति भएको छ,’ उनले भने, ‘फिर्तासँगै सोमबारबाट गर्ने भनिएको आन्दोलन पनि फिर्ता लिएका छौँ ।’

सहमतिमा एक महिनासम्म निजी विद्यालयले पुरानै शुल्कमा भर्ना गर्ने र त्यसपछि एक महिनाभित्र शुल्कको पुरावलोकन गरिने उनले जानकारी दिए । यस्तै, वृद्धि गरिएको शुल्क फिर्ता गरे नगरेको अनुगमन गर्न समिति गठन गरिएको छ ।

भर्नामा निजी विद्यालयले बढाएर लिएको शुल्क पछिल्लो शुल्कमा समायोजन गर्ने सहमति भएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले बताए । निजी विद्यालयले यसअघि भर्ना गर्दा लिएको बढी शुल्क पनि फिर्ता गर्ने सहमति गरेका छन् । ‘बढी लिइएको शुल्क फिर्ता हुने भएको छ,’ उनले भने ।

शिक्षा विभागका महानिर्देशक डा. डिल्ली रिमालको संयोजकत्वमा विद्यार्थी संगठन सम्मिलित शुल्क अनुगमन तथा पुनरावलोकन समिति गठन गरिएको छ । निजी विद्यालयले नयाँ शैक्षिक सत्रमा २२ देखि ४४ प्रतिशत शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन घोषणा गरेका थिए ।

उनीहरूले शुल्क फिर्ता नलिए सोमबारदेखि निजी विद्यालय बन्दको घोषणा गरेका थिए । शुल्क वृद्धिलगत्तै विद्यार्थी संगठनले विद्यालयको लेखाशाखामा तालाबन्दी गरेका थिए ।

आइतबार दिउँसो वार्ता हुने भनिए पनि कैलालीमा शिक्षा कार्यालयअगाडि धर्ना बसेका केही विद्यार्थी नेता पक्राउ परेपछि केहीबेर वार्ता रोकिएको थियो । पछि स्थानीय प्रशासनले विद्यार्थी नेता रिहा गरेपछि साँझ अबेर वार्ता भएको हो ।

शुल्कवृद्धिको विरोधमा आइतबार विद्यार्थी संगठनले देशभरका शिक्षा कार्यालयमा धर्ना दिएका थिए । निजी विद्यालयले ०६८ मा सर्वोच्च अदालतले गरेको आदेशलाई आधार मानेर नयाँ निर्णय गरिनुपर्ने भन्दै शुल्क बढाएका थिए ।

प्रतिक्रिया