एजेन्सी
साना, १५ चैत । द्वन्द्वग्रस्त देश यमनबाट संयुक्त राष्ट्रसंघले आफ्ना कर्मचारीलाई उद्धार गरी फिर्ता लगेको छ ।
पछिल्लो समाचारअनुसार सो क्षेत्रमा केही दिनदेखि द्वन्द्व सुरु भएको छ । द्वन्द्वका कारण त्यहाँबाट कयौँ देशले पनि आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काएका छन् । यमनमा हुथी विद्रोहीले राष्ट्रपति अब्द्रब्हु मन्सुर हादीविरुद्ध आक्रमण गरेका थिए । सो आक्रमणपछि राष्ट्रपति हादी भागेर साउदी अरेबिया पुगेको जनाइएको छ ।
उनको पक्षमा केही दिनदेखि साउदी अरेबियाको सेनाले पनि यमनमा आक्रमण जारी राखेको छ । राष्ट्रपति हादीले त्यहाँ थप आक्रमणका लागि आग्रह गरेका छन् । हादीले यमनमा हुथी सिया विद्रोहीका विरुद्धमा आक्रमण जारी राख्न साउदी अरेबियालाई आग्रह गरेका हुन् ।
दक्षिणी भागको प्रमुख नगर आदेनमा सिया विद्रोही तथा लडाकूबीच संघर्ष जारी छ । संघर्षमा परी शनिबारसम्मकम्तीमा पनि ६१ व्यक्तिको मृत्यु भएको जानकारी एक वरिष्ठ स्वास्थ्य अधिकारीले दिएका छन् ।
साउदी अरेबियाले हवाई आक्रमण गर्नुपूर्व यहाँबाट दर्जनौँ कूटनीतिज्ञलाई अन्यत्र लगेको थियो । साउदी अरेबिया र अन्य खाडी राष्ट्रका सरकारहरुको सहभागितामा यमनका विद्रोहीका विरुद्धमा आक्रमण जारी रहेको बताइएको छ ।
प्रतिक्रिया