नयाँ दिल्ली, ९ चैत । मध्य भारतीय सहरमा रहेको एक क्रिश्चियन चर्चमा आक्रमण भएको समाचारमा जनाइएको छ ।
चर्चमा भारतका हिन्दू नागरिकले आक्रमण गरेको बताइएको छ । प्रहरीले ती आक्रमणकारीमध्ये केहीलाई पक्राउ गरेको जनाएको छ ।
हिन्दू बाहुल्यताको सरकार रहेको भारतमा क्रिश्चियन समुदायमाथि गरिएको यो पछिल्लो हमला हो ।
सो हमलाबाट उक्त चर्चमा ठूलो क्षति पुगेको क्रिश्चियन समुदायका नागरिकले जनाएका छन् ।
मध्यप्रदेश राज्यमा अवस्थित एक चर्चमा केही व्यक्ति पसी झ्याल ढोका फोड्नुका साथै त्यहाँ रहेका भाँडावर्तन पनि फुटाएका थिए ।
तोडफोडका दृश्यहरु उक्त चर्चमा राखिएको सिसीटिभीको माध्यमबाट देखिएको र सोही आधारमा प्रहरीले त्यसमा संलग्न रहेका छजनालाई पक्राउ पनि गरेको छ ।
भारतको हिन्दू धर्म सेनानामक एक हिन्दू धार्मिक सङ्गठनले उक्त चर्चले भारतका विभिन्न ग्रामीण क्षेत्रबाट विविध जातिका नागरिकलाई जबर्जस्ती ल्याएर धर्म परिवर्तन गराएको बताएको थियो ।
उक्त सङ्गठनले केही समयअघिमात्र सो आरोप लगाएको थियो । तर शुक्रबार गरिएको सो आक्रमणमा भने आफ्नो हात नरहेको उसले जनाएको छ ।
उक्त राज्यका एकजना वरिष्ठ प्रहरी अधिकारी एचसी मिश्रले उक्त क्षेत्रबाट छजना आक्रमणकारीलाई पक्राउ गरेको र केही दिनमा थप व्यक्ति पनि पक्राउ गर्ने जानकारी दिएका छन् ।
उनका अनुसार थप व्यक्तिको पनि पहिचान भइसकेको छ र उनीहरुलाई केही दिनमा नै पक्राउ गरिनेछ ।
भारतमा धार्मिक विषय अति संवेदनशील हुन्छ । त्यहाँका बहुसङ्ख्यक नागरिकले हिन्दू धर्म मान्छन् तर देशको संविधानले नै नागरिकलाई धार्मिक स्वतन्त्रता दिएको छ ।
हालको भारतीय सरकारको मुख्य दल भारतीय जनता पार्टी हिन्दू धर्मवादी पार्टी हो ।
त्यसैले पनि यस दलको सरकार रहेको समयमा क्रिश्चियन एवम् अन्य धार्मिक सम्प्रदायमाथि हुने गरेको आक्रमणलाई गम्भीर रुपमा लिइन्छ ।
प्रतिक्रिया