काठमाडौं, ८ चैत । एकीकृत माओवादी र नेकपा–माओवादीका शीर्ष नेताबीच पार्टी एकताका विषयमा छलफल भएको छ ।
नेकपा–माओवादीको पार्टी कार्यालय, बुद्धनगरमा आज बिहान भएको छलफलमा एकीकरणका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्थामा परामर्श भएको नेताहरूले बताएका छन् ।
बैठकमा नेकपा–माओवादीका शीर्ष नेताबीच पार्टी एकताका विषयमा माक्र्सवादको प्रयोग र रक्षा, पार्टीको तत्कालीन कार्यनीति, विगतका कमजोरीको समीक्षा, संसदवादलगायत सात विषयमा छलफल भएको थियो ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्कालीन विषयमा साझा धारणा बनाएर आन्दोलनका कार्यक्रम घोषणा गर्नेबारे पनि सहमति भएको बताए ।
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सात बुँदे प्रस्ताव प्रस्तुत भई छलफल भएको बताए । उनले सात बुँदेमा थप छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए । उनका अनुसार दुवै पार्टी अध्यक्षबीच छलफल भई अर्को वार्ताको मिति तय हुनेछ ।
छलफलमा एमाओवादीका अध्यक्ष दाहाल, नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी तथा नेकपा–माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सहभागिता रहेको थियो ।
केही दिनअघि एमाओवादी अध्यक्ष दाहाल र अध्यक्ष वैद्यको नेतृत्वमा दुवै दलले एकताका लागि वार्ता समिति गठन गरेका थिए । सोही वार्ता समितिले आज छलफल भएको हो ।
प्रतिक्रिया