आर्मीको लगातार पाँचौँ जीत, वीरगन्ज सेमिफाइनलमा

Nepal-Army-Logoकाठमाडौं, ३ चैत । सिनियरतर्फको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भएका खेलमा त्रिभुवन आर्मी क्लब र क्षेत्र नं. ६ बैतडी विजयी भएका छन् ।

पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा सोमबार आर्मीले क्षेत्र नं. २ वीरगन्जलाई १४५ रनको भारी अन्तरले हरायो ।

यो सँगै समूह ए को समिकरण पूरा भएको छ । लगातार पाँच खेलमा शतप्रतिशत जीत निकालेको आर्मी शीर्ष स्थानमा रहँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो ।

हारका बावजुद यसअघि नै तीन जीत निकालेको वीरगन्ज दोस्रो हुँदै सेमिफाइनलमा स्थान बनाउँन सफल भयो ।

त्यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बैतडीले क्षेत्र नं. ९ धनगढीलाई सात विकेटले स्तब्ध पारेको छ । समूह बी मा एक–एक खेल मात्र खेलेका दुवै टोलीको पहिलो जीत र पहिलो हार हो ।

टस हारेर व्याटिङको निम्तो पाएको आर्मीले पूरै ओभरमा खेल्दै नौ विकेट गुमाएर २६२ रनको विशाल लक्ष्य दिएको थियो ।

जवाफी व्याटिङमा आएको वीरगन्जले २६.२ ओभरमै सबै विकेटको क्षतिमा ११७ रन मात्र बनाउँन सक्यो ।

आर्मीको जीतका लागि अनिल मण्डलले बनाएको ११३ रनको पारी प्रमुख रह्यो । त्यस्तै अविजित रहँदै विक्रम सोभले ४३ बलमा ५३ रन बनाए । आर्मीका लागि शतक र अर्धशतक बनाएका दुवै खेलाडी प्लेयर अफ द म्याच भए ।

यसअघि वीरगन्जका अनिल साह तथा अमित श्रेष्ठले क्रमशः ४३ र ३६ रन अन्य व्याट्सम्यान आर्मीको कसिलो बलिङसामु टिक्न सकेनन् र सस्तैमा आउट भए ।

आर्मीका विक्रम तथा राहुल विश्वकर्माले चार–चार विकेट लिएका थिए ।

अर्को खेलमा टस हारेर व्याटिङ गरेको धनगढीले ३७.२ ओभरमा सबै विकेट गुमाएर ८९ रनको झिनो लक्ष्य मात्र दिएको थियो ।

जवाफी व्याटिङमा आएको बैतडीले २० ओभरमै मात्र तीन विकेटको क्षतिमा सजिलै लक्ष्य भेट्टायो ।

यसअघि बैतडीका प्लेयर अफ द म्याच घोषित योगेन्द्र कार्कीले पाँच विकेट लिएपछि धनगढी सस्तैमा सेमिटिएको थियो ।

लक्ष्य सजिलै भेट्टाउन बैतडीका प्रेम तामाङले अविजित ३१, रोशन नेपालीले २२, योगेन्द्रले अविजित १६ तथा प्रशान्त विष्टले नौ रनको बनाए ।

धनगढीका राजु रिजालले ३९ रन बनाउँदा अन्यले व्याट्सम्यानले दोहोरो रन समेत बनाउन सकेनन् । धनगढीका लागि विनोद लामाले तीनै विकेट लिएका थिए ।

दुवै खेलका ‘म्यान अफ द म्याच’ले डोमियर सपिङ एण्ड सुटिङ सेन्टरको तर्फबाट तीन हजार बराबरको गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मङ्गलवार टियू मैदानमा क्षेत्र नं. ७ जनकपुर र क्षेत्र नं. ८ पोखरा तथा पुल्चोकमा क्षेत्र नं. ४ भैरहवा र क्षेत्र नं. ९ धनगढीवीच भिडन्त हुनेछ ।

प्रतिक्रिया