नागरिक लगानी कोष सेवा विस्तार गर्दै

citizen-investment-fundकाठमाडौं, २ चैत । आर्थिक विकासका लागि नागरिक लगानी कोषले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै गएको छ ।

कोषको रजत जयन्तीको पूर्वसन्ध्यामा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरी कोषको सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन वर्तमान समयमा वैज्ञानिक पुनःसंरचना गर्ने कार्य सुरु गरेको कोषले जनाएको हो ।

कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले आठ करोड पुँजीबाट सुरु गरेको कोषको पुँजी अहिले ४५ करोड पुगेको बताए ।

उनले भने, “सानासाना लगानीकर्ता, पर्यटन, जलस्रोत र उत्पादनमूलक क्षेत्रमा कोषले लगानी गरिरहेको छ ।”

चालु आव २०७१/७२ को पुस मसान्तसम्ममा कोषमा कुल ५८ अर्ब बचत सङ्कलन भएको र यसमध्ये ५४ अर्ब लगानी भइसकेको कोषले जानकारी दिएको छ ।

कोषले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य, साझेदारका आधारमा स्रोत पहिचानका लागि नयाँ रणनीति पनि ल्याएको छ ।

जोखिम न्यूनीकरण, दिगो र उच्च प्रतिफलमुखी क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने, कोषका सवै क्रियाकलाप एकीकृतरूपमा सूचना प्रणालीको विकास गरी एप्लिकेसन सफ्टवेयर विकास गर्न कोष प्रयायरत छ ।

कोषको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन पश्चिमाञ्चलको पोखरा र पूर्वाञ्चलको विराटनगरमा शाखा विस्तार गर्न लागिएको छ ।

कोषका अनुसार स्वदेशी तथा गैरआवासीय नेपाली नागरिकबाट बचत सङ्कलन गर्ने कार्यको तयारी अन्तिम चरणमा पुगेको छ ।

कोषले अहिले चार लाख ६० हजार सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया