पोखरा–जोमसोम सिधा बस सेवा

Nepal-Marpha-Jomsom-Trek8कास्की, २ चैत । पोखराबाट मुस्ताङको जोमसोमसम्म आज बिहानदेखि सिधा बस सेवा सञ्चालन सुरु भएको छ ।

पृथ्वी राजमार्ग बस व्यवसायी समिति र मुस्ताङ जिप तथा बस व्यवसायीको संयुक्त पहलमा सुरु भएको सो बस सेवाअन्तर्गत पोखरास्थित राष्ट्र बैंक चोकमा रहेको पर्यटक बसपार्कबाट मुस्ताङको जोमसोमका लागि अहिले बिहान ८ बजे बस छुटेको छ ।

मुस्ताङबाट पनि बिहान ७ बजे नै पोखराका लागि बस छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । साईका अनुसार पोखराबाट जोमसोमसम्मको एकतर्फी भाडा अहिले प्रतिव्यक्ति एक हजार २०० तोकिएको छ ।

यो मार्गमा नयाँ र सुविधायुक्त ३६ सिटको बस चल्नेछन् । पोखराबाट जोमसोमसम्मको दूरी करिब १६० किमि छ ।

माग बढे आगामी वैशाखदेखि दैनिक तीनदेखि चार बस चलाइने पृथ्वी राजमार्ग प्रशासनले जनाएको छ ।

पर्यटकीय याम सुरु हुने भएकाले वैशाखदेखि यो मार्गको चाप बढ्ने गण्डकी धौलागिरि सार्वजनिक यातायात व्यवसाय समन्वय समितिका अध्यक्ष वसन्त प्रधानले जानकारी दिए ।

सिधा बस सेवाले मुस्ताङ जाने आन्तरिक तथा बाह्य पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीलाई सजिलो हुने उनको भनाइ छ ।

अहिलेसम्म बेनी–जोमसोम मार्गमा मात्र सिधा बस सेवा सञ्चालन हुने गरेको छ ।

सेनाले २०५८ सालमा खोलेको सडकमा करिब एक दशकदेखि सवारी चलिरहेका छन् ।

स्थानीय यातायात व्यवसायीको एकाधिकारको मार पर्दै आएको सो मार्गमा पर्यटन र यातायात व्यवसायीबीच बारम्बार विवाद हुने गरेको थियो ।

पोखराबाट मुक्तिनाथ पुग्दासम्म आधा दर्जन सवारी फेर्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया