नयाँ दिल्ली, २ चैत । इन्टरनेसनल मनिटरी फन्ड (आइएमएफ) का प्रमुख क्रिस्टिना लेगार्डले भारतीय अर्थतन्त्र विश्व अर्थतन्त्रकै उदाउँदो अर्थतन्त्र भएको बताएकी छन् ।
उनले भारतीय अर्थतन्त्रप्रति सकारात्मक टिप्पणी गर्दै आगामी दिनमा पनि भारतीय अर्थतन्त्रले सकारात्मक मोड लिने धारणा व्यक्त गरेकी हुन् । विश्व अर्थतन्त्रमा भारत एक प्रमुख हिस्सेदार बन्न सक्ने भन्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि भारतीय सञ्चारसँग कुरा गर्दै सो धारणा राखेको बताइएको छ ।
भारतका सामु विश्वकै एक प्रमुख अर्थतन्त्र बन्न सक्ने अवसर र सम्भावना रहेको उल्लेख गर्दै उनले भारतले आर्थिक विकासका थप क्रियाकलाप र सम्भावनाको बाटो खुला गर्नुपर्ने पनि बताइन् । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि भारतीय चर्चित पत्रिका टाइम्स अफ इन्डियालाई दिएको अन्तरवार्तामा फ्रान्सका पूर्व अर्थमन्त्रीसमेत रहेकी उनले सो धारणा राखेकी हुन् ।
गएको मे महिनामा मोदी भारतको प्रधानमन्त्री भएयता आर्थिक वृद्धिका सङ्केत पनि देखापरिरहेको उनले बताइन् । साथै उनले यी स्रंकेतस्वरूप हाल भारतको मुद्रास्फिति दरमा पनि कमी आएको छ । यो दर हाल करिब ५ प्रतिशतको हाराहारीमा आएको देखिएको छ । नयाँ सरकार निर्माण भएयता भारतको कुल गार्हस्थ्य उत्पादन दरमा पनि केही वृद्धि भएको देखिएको छ । जसका कारण केही महिनायता यो दर करिब ७.४ प्रतिशत पुगेको बताइएको छ ।
उनले भारतको वर्तमान सरकारले गत महिना ल्याएको पूर्ण आकारको बजेटको स्वागत गर्दै आर्थिक वृद्धिका लागि सघाउ पुग्ने खालका लगानीका कार्यक्रमका साथै भारतलाई निर्माण कार्यको एक केन्द्रका रुपमा विकास गर्नेगरी ल्याइएको आर्थिक नीतिको पनि उनले स्वागत गरिन् ।
प्रतिक्रिया