इलाम, १ चैत । अलैँची उत्पादनमा कमी आएपछि पूर्वी नेपाल र भारतको सिमानामा पर्ने मानेभञ्ज्याङ बजार सुनसान बन्दै गएको छ ।
पूर्वी नेपालको मुख्य व्यापारिक केन्द्र रहेको मानेभञ्ज्याङ बजार हिजोआज व्यापारिक कारोबार ठप्प हुँदा व्यवसायी चिन्तित बन्दै गएका छन् ।
दुई तीन वर्षअघिसम्म पहाडी जिल्लामा उत्पादित अलैँचीले बजार लिँदासम्म मानेभञ्ज्याङ बजारमा निकै चहलपहल थियो ।
तर अहिले दैनिकजसो बजार सुनसान बन्दै गएपछि ठूल्ठूला कारोबार गर्ने व्यापारीसमेत विस्थापित हुन थालेको स्थानीय व्यापारी चन्दन प्रधानले बताए ।
उनका अनुसार, मेघमा, जौबारी, तुम्लिङ र सन्दकपुर यात्राका लागि आउने भारतीय पर्यटकको भरमा मात्र मानेभञ्ज्याङ बजार चलेको छ ।
बजार सुक्नथालेपछि उनीहरु पर्यटकको पर्खाइमा बस्न थालेको प्रधानले बताए ।
पूर्वमा अलैँची उत्पादन बढी भएका बेला यो बजारमा अलैँचीको मुख्य मण्डी सञ्चालनमा रहे पनि हाल पूर्वी पहाडमा उत्पादित अलैँची झापाको बिर्तामोड र इलामको फिक्कलबाट निकासी हुनथालेपछि यहाँ कारोबार हुन छाडेको छ ।
भारतको विजनबारी र दार्जिलिङलगायत अन्य स्थानमा सडकको सुविधा, नेपालमा मेची राजमार्गको विकास हुनु तथा पशुपतिनगर नाका चलनचल्तीको हुनुले व्यापार व्यवसाय ओरालो लागेको व्यवसायीहरु बताउँछन् ।
मुख्य कारोबार हुने अलैँचीको बजार सुकेसंँगै दशकौँदेखि भारतका विभिन्न ठाउँबाट व्यापार गर्न आएका मारवाडीहरु व्यवसाय धरापमा पर्न थालेपछि बसोवास छाडेर अन्यन्त्रै जान थालेका छन् ।
शुक्रबारका दिन हाट लाग्ने मानेभञ्ज्याङ बजारमा हटियाको दिन मात्र चहलपहल भए पनि अन्य समयमा व्यापार व्यवसाय अत्यन्तै न्यून मात्रामा हुने गरेको स्थानीय व्यापारी राजन शर्माले बताए ।
मानेभञ्ज्याङ बजारमा पूर्वी इलामको गार्खे, जोगमाई, नयाँबजार, नामसालिङ र सोयाङ गाविसको माथिल्लो भेगका बासिन्दाले उत्पादन गरेको कृषि उपज मटरकोसा र इस्कुस, अकबरे खुर्सानी तथा घ्यू, छुर्पीलगायत कृषि तथा दुग्धजन्य पदार्थ बिक्रीका लागि यसै नाका भएर भारत निकासी हुने गरेको छ ।
मानेभञ्ज्याङ मुख्य मार्ग भएकाले पर्यटक भारतको पश्चिम बङ्गाल र इलाम जिल्लाको सबैभन्दा बढी उचाइमा रहेको पर्यटकीय क्षेत्र सन्दकपुर जाने गरेका छन् ।
पर्यटकको आगमनले मेघमा, जौवारी, सन्दकपुरका होटलमा भने चहलपहल हुने गरेको पाइन्छ ।
अलैँचीले तत्कालीन अवस्थामा लिएको बजार अहिले कारोबार शून्य भएपछि पर्यटकको आश गर्नु सिवाय अरु बाँकी नरहेको व्यापारीहरुको भनाइ छ ।
मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयले मुस्किलले उक्त नाकामा वार्षिक तीन लाख राजस्व सङ्कलन हुने जनाएको छ । उक्त राजस्वले भन्सारका तीन कर्मचारी पाल्न धौधौ भएको छ ।
नेपालबाट मटरकोसालगायतका तरकारी बाली निकासी हुने गरे पनि अन्य कारोबार शून्य प्रायः हुने गरेको कर्मचारीहरु बताउँछन् ।
उक्त भन्सारअन्तर्गत तुम्लिङमा रहेको छोटी भन्सारमा समेत कारोबार शून्य नै हुने गरेको छ ।
प्रतिक्रिया