मालद्वीपका पूर्व राष्ट्रपतिलाई १३ वर्षको जेल सजाय

Maldives' President Mohamed Nasheed listens to a question during an interview with Reuters in Maleमाले, ३० फागुन । मालद्वीपमा पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई त्यहाँको अपराध हेर्ने अदालतले १३ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले उनलाई आतङ्कवादको आरोपमा सजाय सुनाएको समाचारमा जनाइएको छ । उनलाई अनुसन्धानका लागि थुनामा राखिएको थियो ।

मालद्वीपको अपराध हेर्ने अदालतले सो सजाय सुनाएको समाचार मालद्वीपको राजधानी मालेबाट प्राप्त भएको छ ।

शुक्रबार सुनाइएको सो सजायको मालद्वीपमा पनि व्यापक विरोध भएको छ । मोहम्मद नसिदको पार्टीले सो निर्णयको विरोध गर्दै यसले राजनीतिक प्रतिशोध साँधेको बताएको छ ।

उनको राजनीतिक दल मालदिभियन डेमोक्र्याटिक पार्टी (एमडिपी) ले यस निर्णय राजनीतिक रुपमा पूर्णरुपमा प्रेरित रहेको प्रतिक्रया दिएको छ ।

उक्त दलले दिएको प्रतिक्रियामा भनिएको छ– गएको तीन हप्तादेखि अनावश्यक रुपमा गरिएको सोधपुछ एवम् पीडापछि अन्ततः अदालतले राजनीति प्रेरित फैसला सुनाएको छ ।

उक्त दलका प्रवक्ता हमिद अब्दुल गफुरले भनेका छन्, ‘पूर्व राष्ट्रपति नसिदले बारम्बार आफ्ना वकिल राख्न पनि अस्वीकार गर्नुभएको थियो र उहाँ आफूमाथि राजनीति प्रेरित आरोप लागेको बताउनुभएको थियो ।’

प्रवक्ता गफुर नसिदले पछिल्लो समयमा आफूले अपिल नगर्ने धारणा राखेको बताएका थिए । साथै उनले यस फैसलाका विरुद्धमा पार्टीले आधिकारिक धारणा पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।

उनका कानुनी सल्लाहकारहरुको समूहले यसै हप्ताको सुरुमा नै राजिनमा दिएका थिए । उनीहरुले अदालतले आफूहरुलाई आवश्यक मात्रामा तयारीको समय पनि नदिएको र आफ्नो तर्कको पनि कुनै मतलब नगरेको बताएका थिए ।

त्यसयता उनले आफ्नो तर्फबाट पनि कुनै वकिल राखेनन् । उनले वर्तमान सरकाले आफूलाई फसाउन लागेकोले आफूले कुनै कानुनी कदम चाल्नुको कुनै अर्थ नरहेको बताउदै आएका थियो ।

मोहम्मद नसिद मालद्वीपको राष्ट्रपतिका रुपमा सन् २००८ मा निर्वाचित भएका थिए । तर उनलाई विद्रोह गरी सन् २०१२ को फेब्रुअरीमा हटाइएको थियो ।

उनलाई वर्तमान सरकारले आतङ्कवादी क्रियाकलापलाई समर्थन गरेको आरोपमा विगतदेखि नै थुनामा राखेको थियो । तर आफूमाथिका कुनैपनि आरोप सत्य नरहेको भन्दै उनले त्यसको खण्डन गर्दै आएका थिए ।

उनीमाथि वर्तमान सरकारले गरेको यो व्यवहारप्रति स्वदेश र विदेशमा पनि व्यापक मात्रामा आलोचना भएको थियो । उनीमाथि कारबाहीका लागि गरिएको यस फैसलाको पनि देशभित्र र बाहिरबाट विरोध आएको बताइएको छ ।

 

प्रतिक्रिया