याङ्गोन, ३० फागुन । म्यानमारमा डुङ्गा डुब्दा त्यसमा रहेका २१ जना यात्रुको ज्यान गएको समाचार छ । सो दुर्घटनामा परी अरु २६ जना बेपत्ता भएका समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार पश्चिमी म्यानमारको समुद्रमा करिब २०० जना यात्रु बोकेर गइरहेको डुङ्गा समुद्रको किनारमा पुग्ने बेलामा नै डुबेको बताइएको छ ।
पश्चिमी म्यानमारको क्याक्फु नगरबाट यात्रु बोकेर सो डुङगा सित्वी भन्ने नगरतर्फ जादै गरेको थियो । सो डुङ्गा समुद्रको किनारमा पुग्नै लाग्दा डुबेको थियो ।
सित्वी नगरका एकजना प्रहरी अधिकारीले भने हामीले दुई महिला र १९ जना पुरुष गरी २१ जनाको शव प्राप्त गरेका छौँ । फेरी सञ्चालकको सूचनाको आधारमा अझै २६ जना हराइरहको उनले जानकारी दिएका छन् ।
ती प्रहरी अधिकारीकाअनुसार उक्त दुर्घटनामा परेका मध्ये १६७ जनाको उद्वार गरिएको थियो । सो दुर्घटनामा कुनै विदेशी भने नपरेको जानकारी दिइएको छ ।
उक्त डुङ्गामा बढी तौल भएकोले डुब्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पहरीले जनाएको छ । तर अनुसन्धानको क्रम भने जारी रहेको छ ।
हराएका व्यक्तिको पनि जीवितै उद्वार गर्न सकिने आशामा खोजी जारी राखिएको बताइएको छ । उद्वारका लागि कयौँ सुरक्षाकर्मी खटाइएको समाचारमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया