काठमाडौं, ३० फागुन । वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले दैनिक उपभोग्य वस्तुको अनुगमन तथा कारबाही प्रक्रियालाई थप प्रभावकारी बनाउने भएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा विभागले पत्रकार सम्मेलन गरी दैनिक उपभोग्य खाना पकाउने एलपी ग्यास, खाद्यान्न, पानीलगायतका वस्तुको प्रभावकारी अनुगमन गरी गल्ती पाइएमा घटनास्थलमै कारबाही गरेको हो ।
उपभोग्य वस्तुको व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताले निकै सास्ती व्यहोर्नुपरेको भन्दै विभागले उपभोग्य वस्तुको उत्पादनको मुहानदेखि नै सफाइ अभियान सुरु गरिने जनाएको छ ।
विभागका महानिर्देशक शम्भु कोइरालाले उपभोक्ताको अधिकारलाई स्थापित गर्न पर्याप्त जनशक्ति परिचालन गरी अनुगमन र कारबाहीलाई प्रभावकारी बनाइने बताए ।
‘साना पसलेभन्दा पनि उत्पादन गर्ने ठूला उद्योगको मुहानलाई नै सफा राख्ने र मुहान सफा भएपछि अरू शाखा सफा हुने भएकाले विभाग र जिल्लाको अनुगमन संयन्त्रलाई निर्देशन दिइसकिएको छ, घटनास्थलमै कारबाही सुरु गरेका छौँ पछिल्लो दुई पाउरोटी उद्योगलाई बन्द गरेका छौँ’, उनले भने ।
महानिर्देशक कोइरालाका अनुसार अहिलेसम्म १५ व्यवसायलाई घटनास्थलमै कारबाही गरी बन्द गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया