धरानमा स्थानीय जातको कुखुराको बिक्रीमा कमी

Bhaleइटहरी, ३० फागुन । स्थानीय जातको कुखुरा बिक्रीका दृष्टिकोणले उर्बर मानिँदै आएको धरान उपमहानगरपालिका क्षेत्रमा अहिले स्थानीय जातको कुखुराको बिक्रीमा कमी आएको छ ।

धरान उपमहानगरपालिकाको विभिन्न ठाउँमा सार्वजनिक तथा निजी जमिन भाडामा लिएर स्थानीय जातको कुखुरा जिउँदै बिक्री वितरण गर्ने व्यापारीको पेसा अहिले सङ्कटमा परेको हो ।

धरानमा अहिले ब्रोइलर कुखुराका कारणले पनि स्थानीय जातको कुखुरा कम बिक्री भइरहेको व्यापारीको भनाइ छ ।

पछिल्लो समय धर्म परिवर्तन गर्नेको लर्को नै लाग्न थालेका कारणले पनि स्थानीय जातको कुखुरा खरिद बिक्रीमा कमी आएको हो ।

पूर्वी नेपालमा बसोवास गर्दै आएका आदिवासी जनजातिका धेरैजसोले बुढासुब्बा मन्दिरमा कुखुरा चढाउँदै आएका थिए ।

तर पछिल्लो समयमा उनीहरूले हिन्दू धर्म छाडेर क्रिश्चियन धर्म मान्न थालेकाले बुढासुब्बा मन्दिरमा पूजापाठका लागि गरिने भाकल घटेकाले पनि स्थानीय जातको भाले कुखुराको बिक्री घटेको व्यापारी मोतिमाया मोक्तानको भनाइ छ ।

लामो सयमदेखि कुखुराको व्यापार गर्दै आएकी मोक्तान अहिले दिनमा एक–दुईवटा कुखुरा बेचेर २०–४० रुपियाँ आम्दानी गर्दैआएको बताइन् । “घर खर्च चलाउन पनि धौधौ पर्न थालेको छ” उनले भनिन् ।

कुखुराको व्यापारमा लामो समय बिताइ सकेकी फूलमाया तामाङले पनि अहिले कुखुराको पेसा सङ्कटमा परेको बताउछिन् । बुढासुब्बामा पूजा गर्न नआउनु नै कुखुराको व्यापार घट्नुको मूल कारण रहेको उनले बताइन् ।

कुखुराकै व्यापार गर्दै आएका निरु तामाङ र रमेश तामाङले पनि लामो समयदेखि लेटाङ केराबारी, मधुमल्ला पथरीलगायतका स्थानबाट स्थानीय जातको कुखुरा ल्याएर बेच्ने गरेको तर अहिले भने साहुँ उठाउनसमते समस्या पर्ने गरेको गुनासो गरे ।

प्रतिक्रिया