कांग्रेस र मधेसी मोर्चाबीच सकारात्मक छलफल

001काठमाडौं, २९ फागुन । प्रमुख सत्तारुढ दल कांग्रेसले आन्दोलनरत मधेसी मोर्चासँग संघीयता र संविधानका विवादित विषयहरूमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संघीयतामा देखिएका विवादित विषयहरूमा छलफल भएको नेताहरूले बताएका छन् ।

बैठकमा झापा, मोरङ र सुनसरी तथा कैलाली र कञ्चनपुरलाई कता राख्ने विषयमा पनि छलफल भएको थियो ।

संघीयताका विषयमा कांग्रेस र मधेसी मोर्चाका नेताहरूले पूरानै धारणा राखेका थिए ।

बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले संघीयता र संविधानका अन्य विवादित विषयहरूमा छलफल भएको बताए । ‘मधेसी मोर्चासँग सकारात्मक छलफल भएको छ’, बडूले भने, ‘संघीयताका विषयमा मधेसी मोर्चाका नेताहरूले राखेको धारणा एकअर्काले सुन्यौ । खासै मतभिन्नता छैन । छलफल आवश्यक छ ।’

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तराई मधेसको सबै भू–भागलाई मधेस र थारुहट प्रदेश बनाउने पूरानो सहमतिलाई अघि सारेको बताए । ‘विगतका सहमतिअनुसार संघीयता बनाइनुपर्छ’, अध्यक्ष महतोले भने, ‘संघीयताका विषयमा हाम्रो पूरानै अडान छ ।’

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता बडूको उपस्थिति थियो ।

मोर्चाबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सदभावना पार्टीका अध्यक्ष महतोको सहभागिता थियो ।

कांग्रेससँगको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने अनुपस्थित रहे । अध्यक्ष यादव पार्टीको काम छ भन्दै बैठकमा नगएका हुन् ।

प्रतिक्रिया