युएइमाथि दक्षिण अफ्रिकाको जित

south_africa_reutersवेलिंघन, २८ फागुन । विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको छ ।

वेलिंघटनमा बिहीबार भएको समुह चरणको अन्तिमा दक्षिण अफ्रिकाले युएइलाई १ सय ४६ रनले पराजित गरेको हो ।

जितसंगै दक्षिण अफ्रिकाले समुहमा दोस्रो स्थान लगभग निश्चित गरेको छ ।

पाकिस्तानले आयरल्यान्डसँग एकदमै फराकिलो अन्तरले हराएमा मात्र दक्षिण अफ्रिका तेस्रो स्थानमा खुम्चन सक्नेछ ।

दक्षिण अफ्रिकाको आठ अंक छ भने एक खेल खेल्न बाँकी रहेको युएइको कुनै अंक छैन । एक खेल बाँकी रहेको भारतको १० अंक छ । भारतले समुहमा पहिलो स्थान निश्चित गरिसकेको छ ।

टस हारेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३ सय ४१ रनको योगफल खडा गरेको थियो । दक्षिण अफ्रिकी कप्तान एबी डि भिलियर्स ९९ रनमा आउट भए । ८२ बलको सामना गरेका उनले ६ चौका र चार छक्का प्रहार गरे ।

उनले एउटै विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए । उनले यस विश्वकपमा १९ छक्का प्रहार गरिसकेका छन् ।

यसभन्दा अघि सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान एडम गीलक्रिस्ट र क्रिस गेलको नाममा रहेको थियो । दुवैले एउटै विश्वकपमा १८ छक्का प्रहार गरेका छन् । दक्षिण अफ्रिकाका लागि फराह बर्हाडीनले बिस्फोटक ब्याटिंग गर्दै ३१ बलमा ६४ रन जोड्दै अविजित रहे ।

३ सय ४२ रनको लक्ष्य पछ्याएको युएइले ४७.३ ओभरमा नौ विकेट गुमाउदै १ सय ९५ रन जोड्यो । युएइका अलास्मी बलीङग गर्ने क्रममा घाइते भएका थिए । स्वप्नील पाटील ५७ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकी बलर मोर्ने मोर्काल, भर्नोन फीलान्डर र एबी डिभिलियर्सले समान दुइ विकेट लीए ।

प्रतिक्रिया