एसएलसी दिन पौने ६ लाखको आवेदन

pariksha niyantran karyalaya

प्रश्नपत्र र उत्तरपुस्तिकासहित सबै सामग्री जिल्ला पुर्‍याइयो ।  १ हजार ८६२ परीक्षा केन्द्र कायम । परीक्षामा खटिनेको भत्ता वृद्धि 

भक्तपुर, २७ फागुन । सएलसी अर्थात् प्रवेशिका परीक्षा यस वर्ष चैत ५ गतेदेखि देशभर सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा सहभागी हुन ५ लाख ७४ हजार ६८५ जना छात्रछात्राले आवदेन दिएका छन् । जसमा नियमिततर्फ छात्र २ लाख १२ हजार ५०४ र छात्रा २ लाख १३ हजार ७१० गरी ४ लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुनेछन् ।

एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ र छात्रा ८५ हजार ९३० गरी १ लाख ४५ हजार १८३ जना सहभागी हुनेछन् । प्राविधिकतर्फ छात्र २ हजार ३७ र छात्रातर्फ १ हजार २५१ गरी ३ हजार २८८ जना परीक्षामा सहभागी हुने भएका छन् ।

परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५८७ र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी छन् भने यस वर्ष परीक्षा दिनेमा छात्रभन्दा छात्राको संख्या बढी छ ।

७५ वटै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामग्री पुर्‍याइसकेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिएका छन् । उनका अनुसार देशभर १ हजार ८६२ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १\१ वटा परीक्षा केन्द्र कायम गरिएको छ । गत वर्ष १ हजार ८३६ परीक्षा केन्द्र कायम गरिएकामा यस वर्ष परीक्षार्थी बढेकाले केन्द्र पनि बढाएको हो ।

परीक्षाका लागि १७ हजार ९३० जना सुरक्षाकर्मी, १ हजार ८६२ केन्द्राध्यक्ष, २ हजार ४४० सहायक केन्द्राध्यक्ष, २३ हजार १४ जना निरीक्षक र ७ हजार ६९९ जना कार्यालय सहायक परिचालन गरिने परीक्षा नियन्त्रक द्वारेले बताए ।

त्यसैगरी, कार्यालयले परीक्षामा खटिने सबै व्यक्तिको दैनिक भत्तासमेत वृद्धि गरेको छ । जसमा केन्द्राध्यक्षको दैनिक ५०० बाट ८०० रुपैयाँ, सहायक केन्द्राध्यक्षको ३५० बाट ५०० रुपैयाँ, निरीक्षकको २०० बाट ३५० रुपैयाँ, सुरक्षाकर्मीको ५० बाट १५० रुपैयाँ, कार्यालय सहयोगीको १०० बाट २०० रुपैयाँ पुर्‍याइएको पनिकाले जनाएको छ । पनिकाका अनुसार परीक्षाको तयारी पनि पूरा भएको छ ।

प्रतिक्रिया