भारतीय अदालतले पूर्वप्रधानमन्त्री सिंहलाई बोलायो

Manmohan Singh

एजेन्सी
नयाँ दिल्ली, २७ फागुन । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा बयानका लागि अदालतले बोलाएको छ ।

उनलाई प्रधानमन्त्री रहेका बेला सन् २००५ मा गरेको भनिएको कोइलासम्बन्धी अनियमितताको मुद्दामा बयानका लागि अदालतले बोलाएको हो । अर्बौँ भारतीय रुपैयाँबराबरको सो मुद्दाको छानबिन जारी छ । सो मुद्दामा जारी अनुसन्धानका क्रममा भारतको विशेष अदालतले पूर्वप्रधानमन्त्री डा. सिंहसहित अरु पाँच जनालाई सो मुद्दाका बारेमा प्रश्न सोध्नका लागि बोलाएको हो ।

उनलाई कोइलाखानी सञ्चालनसम्बन्धी अनुमति दिँदा सरकारी साधनस्रोत दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सोधपुछका लागि बोलाएको हो । त्यस समयमा उनी आफैं कोइलामन्त्रीको पनि जिम्मेवारीमा रहेको र सोही समय कोइला उत्पादन र बिक्रीबितरणका लागि निजी क्षेत्रलाई दिइएको लाइसेन्समा अनियमिता भएको बताइएको थियो ।

त्यसको केही समयपछि नै उक्त काण्डको छानबिन सुरु भएको थियो । सोही क्रममा बुधबार उनलई अदालतले आगामी अप्रिल ८ मा बयानका लागि बोलाएको बताइएको छ । यो काण्डले सन् २००५ मा भारतको कोइलाखानीको क्षेत्रमा निकै ठूलो तहल्का मच्चाएको थियो ।

यो विषय भारतका एक जना ठूला उद्योगपतिसँग पनि जोडिएको आरोप लगाइएको छ । कुमार मंगलम बिरला भारतको कोइलासम्बन्धी एक ठूलो कम्पनी हिन्डाल्कोका अध्यक्ष पनि रहेका र सो कम्पनी पनि यसमा मुछिएको छ ।

सो कम्पनीले यसअघि नै कोइलाखानीको सो अनुमतिका क्रममा कुनै पनि अनियमितता नभएको दाबी गरेको छ ।

पूर्वप्रधानमन्त्री सिंहले पनि सन् २०१३ मा नै एक विज्ञप्तिमार्फत सो विषयमा कुनै पनि अनियमितता नभएको र राजनीतिक रुपमा प्रेरित भई यस्तो मुद्दा उठाइएको बताएका थिए ।

भारतको सर्वोच्च अदालतले गएको दुई दशकमा भारत सरकारले त्यहाँको निजी क्षेत्रलाई दिएको सो कोइलाखानी सञ्चालनसम्बन्धी अनुमतिका विषयमा करिब २१४ वटा कोइला खानीमाथि कारबाही गरेको थियो ।

प्रतिक्रिया