बेलायतमा बडिबिल्डिङको क्रेज बढ्दै

123लण्डन : बेलायतमा बस्दै आएका नेपालीहरुले शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्न लागेका छन् । गतवर्ष ‘स्वास्थ्य नै धन हो’ भन्ने नारासहित युके नेपाल फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेसले गरेको प्रतियोगिताको यो दोस्रो संस्करण हो । पहिलो संस्करणका विजेता सुक गुरुङ यसपटक प्रमुख आर्कषणका रुपमा रहने छन् ।
फ्रानबोरफ जीयुस्थित स्यामूयल कोड स्पोर्टस् कलेजमा आयोजना हुन लागेको दोस्रो संस्करणमा अहिलेसम्म ८ जना बडिबिल्डरहरुले आफ्नो सहभागिता पक्का गरिसकेका छन् । यद्यपी यसै महिनाको अन्त्यसम्म मनोनयन दर्ता खुल्ला रहेकाले प्रतियोगीहरूको संख्या बढ्ने अनुमान गरिएको ।
यसपटक मिस्टर नेपाल तथा दुई पटकका मिस्टर धर्मश्री सानु गुरुङले गेस्ट पोज प्रस्तुत गर्नेछन् । उमेश पुन, सुकदेव कार्की, देशबहादुर गुरुङ, प्रनय गुरुङ, दीपेन्द्र लामिछाने, विशान गुरुङ, यमकुमार गुरुङ र रचित कुवँरले प्रतियोगिताका लागि आफ्नो सहभागिता पक्का गरिसकेका छन् ।
१७ अगस्टमा आयोजना हुने प्रतियोगितालाई भव्य बनाउन यतिबेला आयोजक समिति सक्रिय रुपमा लागेको छ । पछिल्लो समय बेलायतमा बस्ने नेपालीहरुले फिटनेसमा विशेष ध्यान दिन थालेपछि बडिबिल्डिङ खेल पनि नेपाली समूदायमाझ लोकप्रिय बन्दै गएको गतवर्षका विजेता सुक गुरुङले बताए ।
सुकले भने, ‘बेलायतमा रहँदै आएका नेपाली समुदाय अहिले स्वास्थ्यप्रति सजग बन्दै गएका छन् । यससँगै अहिले हाम्रो समुदायमा बडिबिल्डिङ खेल पनि लोकप्रिय बन्दै गएको छ ।’

प्रतिक्रिया