काठमाडौं, ३ जेठ । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह एमाले नै भएको आफ्नो दश दिने चीन भ्रमणबाट पुन: पुष्टि भएको बताएका छन् ।
नेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय, बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले चीनले आफ्नो भ्रमण टोलीलाई दिएको महत्व र त्यहाँका उच्च नेतासँगको भेटमा पाइएको बुझाइका आधारमा पनि नेपालमा एमाले नै कम्युनिस्ट आन्दोलनको अगुवा र मूल प्रवाह भएको पुन: पुष्टि भएको दाबी गरे ।
उनले चीनले नेपालमा उग्रवामपन्थी चिन्तन राख्ने कम्युनिस्ट पार्टीलाई मूल प्रवाह मानेको हो कि भन्ने विगतको भ्रमको अन्त्य भएको भन्दै जनताको बहुदलीय जनवादको विचार बोकेको आफ्नो पार्टी मूल शक्ति रहेकामा छिमेकी मुलुकमा अब कुनै शंका नरहेको जीकिर गरे । अध्यक्ष खनालले चीन भ्रमणका क्रममा दुई देशबीचका सम्बन्ध विस्तार हुनाका साथै एमाले र चीनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धमा पनि नयाँ आयाम थपिएको बताए ।
एमाले अध्यक्ष खनालले पार्टीको आगामी १९ असारदेखि काठमाडौंमा हुने नवौ महाधिवेशन साङ्गठनिक, वैचारिक र सबै हिसाबले एकताबद्ध हुने दाबी गरे ।
उनले एक वर्षभित्र संविधान जारी गराउने पार्टीको प्रतिबद्धतामा लाग्न सभासद् र कार्यकर्तालाई अपील पनि गरे । कार्यक्रममा मदन भण्डारीका सङ्कलित रचना समेटिएका विभिन्न पाँच पुस्तक सार्वजनिक गरिएको थियो ।
यस्तै स्मृति दिवसका अवसरमा नेकपा (एमाले) केन्द्रीय स्वास्थ्य तथा जनसङ्ख्या विभागले पार्टी कार्यालयमा बिहान रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
विविध कार्यक्रम
मदन भण्डारी र जीवराज आश्रितको २१ औं स्मृति दिवसको अवसरमा चितवनमा विविध कार्यक्रम आयोजना गरियो । नेकपा एमाले चितवनले शनिबार दुर्घटनास्थल कविलाश–२ दासढुङ्गामा श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो ।
सभामा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सभासद् काशीनाथ अधिकारीले मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनले श्रेष्ठता हासिल गरेकाले सम्पूर्ण कम्युनिस्ट सिद्धान्त बोकेकाहरू गोलबद्ध हुनाको विकल्प नरहेको तर्क गरे । कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले दुर्घटनास्थल दासढुङ्गामा रहेको मदन–आश्रितको सालिकमा माल्यार्पण पनि गरेका थिए ।
वि.सं. २०५० जेठ ३ गते कास्कीको तेस्रो अधिवेशन सकेर चितवनमा हुने कार्यक्रममा सहभागी हुन आउँदै गर्दा तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठक आश्रितको जिप दुर्घटनामा परी निधन भएको थियो ।
प्रतिक्रिया