काठमाडौं, ३ जेठ । स्ववियु निर्वाचनका विषयलाई लिएर विद्यार्थी संगठनहरुबीच विवाद देखिएपछि सम्पूर्ण प्रक्रिया नै अन्यौलमा परेको छ । त्रिभुवन विश्वविद्यालयले निर्वाचनको मिति तोकेपछि नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी सहितका १८ विद्यार्थी संगठनबीच चुनाव हुने र नहुने विषयमा ब्यापक विवाद देखिएको हो । त्रिविले आगामी १८ जेठमा निर्वाचनको मिति तोकेको छ ।
अखिल क्रान्तिकारीसहित १८ विद्यार्थी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमा नेविसंघ र अनेरास्ववियुले त्रिविले तोकेको समयमा नै स्ववियु निर्वाचन हुनुपर्नेमा जोड दिएको छ ।
नेविसंघका अध्यक्ष रञ्जित कर्ण र अनेरास्ववियुकी कोषाध्यक्ष रश्मी आर्चायले त्रिविले तोकेको समयमा नै निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले स्ववियु निर्वाचनदेखि नभाग्न १८ विद्यार्थी संगठनसँग आग्रहसमेत गरेका थिए । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले कुनै हालतमा स्ववियु निर्वाचनमा भाग नलिने बताए ।
नेविसंघ र अनेरास्ववियुको दबाबमा त्रिविले निर्वाचनको कार्यतालिका निकालेको भन्दै उनले आपत्तिसमेत जनाए । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष राजाराम वर्तौलाले स्ववियु निर्वाचनको विरोधमा आइतबारदेखि नै त्रिवि कार्यालय घेराउ गर्ने चेतावनी दिए । कार्यक्रममा विश्वभाषा र पाटन संयुक्त क्याम्पसका प्रमुखहरुले सहमतिबिना १८ जेठमा स्ववियु निर्वाचन हुन नसक्ते बताए ।
प्रतिक्रिया