भारतमा अब ‘मोदी युग’

Modiनयाँ दिल्ली, ३ जेठ । भारतीय लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्स (एनडिए) ले स्पष्ट बहुमत प्राप्त गरेसँगै ‘नरेन्द्र मोदी युग’ शुरु भएको छ । शुक्रबार सम्पन्न मतगणनामा मोदीको नेतृत्वमा चुनाव लडेको भाजपा एक्लैले लोकसभाको ५४३ मध्य २ सय ८३ सिटमा जित हात पार्‍यो । भाजपा नेतृत्वको एनडिए गठबन्धनले ३ सय ३७ सिटमा जित हात पार्‍यो । सोनीया गान्धी नेृतत्वको कांग्रेस आइ गठबन्धनले ५८ तथा कांग्रेस आइ एक्ललै ४३ सिट मात्र जितेको छ । भावी प्रधानमन्त्रीका रुपमा मोदीलाई भाजपाले प्रस्तुत गरेसँगै देशभर उनको पक्षमा लहर देखिएको थियो । भारतीय संचार माध्यमहरुले यस अघि नै मोदी प्रधानमन्त्री बन्ने पक्का पक्की भएको घोषणा गरिसकेका थिए ।
गुजरातका मुख्य मन्त्री समेत रहेका मोदीले सो राज्यमा गरेको विकास, उनको लगनशीलता र उनले प्राप्त गरेको उचाईका कारण भारतीय जनता उनीप्रति विश्वस्त भएका हुन् । कुनै समय गुजरातको बदनगर रेल्वे स्टेशनमा चिया बेच्ने मोदि भारतको प्रधानमन्त्रीमा आसिन हुने भएका छन् । उनका पिताले खोलेको चिया पसलमा उनी चिया बेचेर बस्थे । ६३ बर्षको उमेरमा उनी विश्वको सवैभन्दा ठुलो लोकतन्त्रको देश भनेर चिनिने भारतको प्रधानमन्त्री बन्न सफल भएका हुन् ।
सत्ताधारी कंग्रेस आईको गिर्दो लोकप्रियता, आर्थिक रुपमा देशलाई मजबुत बनाउन नसकेको र भ्रष्टाचार मौलाएको जस्ता आरोपहरुका कारण भाजपा थप बलियो दलका रुपमा देखा पर्‍यो । सन् १९५० को सेप्टेमवर १७ तारिखमा जन्मेका मोदिले शुरुवाती समय देखी नै राजनीतिमा चाख राखेका थिए । उनी आठ बर्षको उमेरमा शक्तिशाली हिन्दुवादी समुह राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)मा आबद्ध भएका थिए । सो समुहको मुख्य उदेश्य भारतीय संविधानमा हिन्दुत्वलाई स्थापित गर्नु थियो ।
भाजपालाई पनि एकाथरीले हिन्दुवादी पार्टी भन्ने गरेका छन् । मोदी सन् १९८५ मा भाजपासँग जोडिएका थिए । सन् १९८४ मा भएको लोक सभा निर्वाचनमा भाजपाले जम्मा दुई सिट मात्रै जितेको अर्को बर्ष मोदी सो दलमा आबद्ध भएका थिए । उनको आबद्धताले भाजपा थप बलियो हुदै गएको आभाष सवैले गरे । उनले पर्दा पछाडीबाट खेलेको भुमिकाले सन् १९९५ मा गुजरातमा भएको निर्वाचनमा सो दल विजयी भयो । मोदी सन् २००१ को अक्टोवरमा गुजरातको मुख्य मन्त्री बनेका थिए । तर उनी मुखय मन्त्री भएको केही महिना पनि वित्न नपाउँदै सो राज्यमा हिन्दु मुश्लिम दंगा शुरु भएको थियो । जसमा एक हजार भन्दा बढीको मृत्यु भएको थियो । सो काण्डमा मोदी माथी मुश्लिम विरुद्ध आन्दोलन भड्काएको आरोप समेत लागेको थियो । तर, गत बर्ष मात्रै भारतको अदालतले उनी दोषी नभएको ठहर गरेको थियो ।
मोदीले मुख्य मन्त्रीको पद सम्हाले देखी नै राज्यलाई आर्थिक रुपमा मजबुत बनाउन विशेष भुमिका खेलेका थिए । उनले आर्थिक विकासका लागी, चुस्त ब्यापार ब्यवसाय संचालन गर्न, प्रशासन संयन्त्र बलियो बनाउन महत्वूुर्ण भुमिका खेलेका थिए । सन् २००९ मा उनले गुजरातलाई लगानी गन्तब्यको राज्य बनाउनका लागी एक अमेरिकी कम्पनीलाई करारमा राखेका थिए । जसका कारण गुजरातको प्रतिब्यक्ति आय बढ्दै गएको छ ।
असाध्यै मिहिनेत गर्ने, लगनशील र गन्तब्यका लागी तल्लिन ब्यक्तिका रुपमा विश्लेषकहरुले मोदीलाई लिने गरेका छन् । मोदीको सम्बन्ध अमेरिकासँग त्यती राम्रो छैन । अमेरिकाले पटक पटक उनलाई भिसा दिन समेत अस्वीकार गर्दै आएको थियो । विकिलिक्समा सार्वजनिक भएको एक तथ्य अनुसार मोदी इमान्दार भएका कारण अमेरिकालाई अप्ठेरो परेको दावी समेत गरिएको थियो । तर अहिले अमेरिकी राष्ट्रपती वाराक ओवामाले आफु भारतमा बन्ने नयाँ सरकारसगँ मिलेर अगाडी बढ्न तयार रहेको यस अघि नै बताइसकेका छन् ।
चिन र पाकिस्तान विरुद्ध विपक्षमा रहँदा कडा रुपमा प्रस्तुत हुने गरेका मोदीले अव सत्तामा भएपछि कस्तो नीति अख्तियार गर्ने हुन् त्यो भने हेर्न बाँकी छ । मोदीले भारतमा नेतृत्व सम्हाले लगत्तै नेपाली राजनीतिमा पनि असर पर्न सक्ने विश्लेषण नेपाली वृतमा चलेको छ । यद्यपी भारतीय नेताहरुले नेपाल नीतिमा सरकार परिवर्तनले असर नपार्ने बताउदै आएका छन् ।

प्रतिक्रिया