भारतमा निर्वाचन सम्पन्न

india copyनयाँ दिल्ली, २९ बैशाख । भारतीय लोकसभा निर्वाचनको मतदान सोमबारबाट सम्पन्न भएको छ । भारतीय इतिहासमा यो लोकसभा निर्वाचन अहिलेसम्मकै लामो चरणको हो । पाँच सातासम्म चलेको मतदानमा विभिन्न दश चरणमा ५ सय ४३ सीटका लागि प्रतिस्पर्धा भएको थियो ।
लोकसभा निर्वाचनको अन्तिम चरणमा सोमबार तीन राज्यमा ४१ सीटका लागि मतदान भएको थियो । जसमा विहारका छ, उत्तर प्रदेशको १८ र पश्चिम बंगालको १७ सीटमा मतदान भएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पश्चिम बंगालमा ७९ दशमलव ३ प्रतिशत मतदान भएको छ । यता, विहारमा ५८ प्रतिशत र उत्तर प्रदेशमा ५५ प्रतिशत मत खसेको बताइएको छ ।
भारतीय निर्वाचन आयोगले लोकसभा निर्वाचनमा कुल खसेको मत र प्रतिशतका बारेमा भने मंगलबार मात्रै औपचारिक जानकारी दिने तयारी गरेको छ । भारतीय लोकसभा निर्वाचनमा सबैभन्दा चर्चाको क्षेत्रका रुपमा उत्तरप्रदेश रहेको छ । उत्तरप्रदेशको वनारसको निर्वाचन थप रोचक बनेको छ । सो क्षेत्रबाट भारतीय जनता पार्टीका प्रधानमन्त्री पदका उम्मदेवार नरेन्द्र मोदी चुनावी मैदानमा छन् । उनको प्रतिद्वन्द्वीका रुपमा आम आदमी पार्टीका अरविन्द केजरिवाल रहेका छन् । भाजपाले मोदीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारे पनि कांग्रेस आईले भने कुनै पनि उम्मेदवारलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छैन । तर, उपाध्यक्ष राहुल गान्धीले पार्टीको प्रचारको जिम्मा लिएका थिए । राहुल गान्धी उत्तरप्रदेशको अमेठीबाट उम्मेदवार बनेका छन् । उनको प्रतिद्वन्द्वीका रुपमा भाजपाकी नेतृ तथा कलाकार स्मृती इरानी चुुनावी मैदानमा छिन्् ।
७ अप्रिलबाट शुरु भएको निर्वाचनमा ८१ करोडभन्दा बढी मतदाताको नाम सूचीमा थियो । भारतीय सञ्चारमाध्यमहरुले ५० करोडभन्दा बढीले मतदान गरेको आँकलन गरेका छन् । मतदान सकिए पनि मतगणना आगामी १६ मे बाट मात्र शुरु हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुले यस पटक भाजपाको सरकार बन्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया