मृतकको संख्या बढ्यो

koreaसियोल ११, बैशाख । दक्षिण कोरियाको समुद्रमा १६ अप्रिलमा भएको फेरि (ठूलो आकारको डुंगा) दुर्घटनामा हराइरहेकामध्ये मृत्यु हुने व्यक्तिको संख्या एक सय ५९ पुगेको छ ।
सो घटनामा परेका यात्रुको खोजीकार्य जारी रहँदा त्यसमा परेका एक सय ५९ जनाको शव प्राप्त भएको बताइएको हो । अझै पनि सो दुर्घटनामा परेका १४३ जना व्यक्ति बेपत्ता रहेका जनाइएको छ । सरकारले उद्धारको काममा तीब्रता दिएको जनाएको छ ।
सो दुर्घटनाका कारण ३ सयभन्दा बढी व्यक्तिको मृत्यु र बेपत्ता भएको जनाइएको छ । १६ अप्रिलमा भएको सो दुर्घटनामा परी मृत्यु भएकामध्ये एक सय ५९ जनाको शव भेटिएको दक्षिण कोरिया सरकारले जनाएको हो ।
सो दुर्घटनामा बिहीबार बिहानसम्म थप ३१ जनाको शव प्राप्त भएपछि मृतकको संख्या एक सय ५९ पुगेको हो । दक्षिण कोरियाको दक्षिणी तटीय क्षेत्रमा चालक दलका सदस्यसहित चार सय ७६ जना यात्रुका साथमा यात्रा गरिरहेको सो डुंगा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेको सो डुंगामा अधिकांश माध्यमिक विद्यालयका विद्यार्थी रहेका थिए । स्थानीय विद्यालयका विद्यार्थीलाई अध्ययन भ्रमणमा लैजाने क्रममा सो डुंगा दुर्घटनामा परेको थियो ।
अधिकारीहरूले उद्धारको काम जारी नै रहेको बताए पनि हराइरहेका ब्यक्ति जीवित हुने सम्भावना कम हँुदै गएको बताइएको छ । उता, अधिकारीहरूले उद्धारको कामलाई प्रभावकारी बनाउन नसकेका भन्दै हराइरहेका व्यक्तिका आफन्तले सरकारको चर्काे आलोचना गरेका छन् । सो जहाजका चालक दलका सदस्य र जल यातायातसम्बन्धी मन्त्रालयका अधिकारीलाई पनि पक्राउ गरी यात्रामा भएको लापर्बाहीको बारेमा अध्ययन गरिएको बताइएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिले पनि गतसोमबार एक प्रतिक्रिया दिँदै सो दुर्घटना नागरिकको आमहत्या सरह भएको बताएका थिए । उनले यस्ता लापर्वाहीपूर्ण काममा संलग्न रहेका व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न पनि निर्देशन दिएका छन् । दुर्घटनाग्रस्त डुंगाबाट बेपत्ता भएका व्यक्तिको खोजीकार्यमा तटीय सुरक्षा गार्ड, नौसेना र निजी चालकगरी ५ सय ५० जना संलग्न रहेका जनाइएको छ । त्यसैगरी दुई सय १२ डुंगा र ३४ वटा विमानसमेत उद्धारकार्यमा संलग्न रहेको जनाइएको छ ।

प्रतिक्रिया