पाँचौ चरण पनि शान्तिपूर्ण

नयाँदिल्ली, ४ बैशाख । भारतमा लोकसभा निर्वाचनको पाँचौ चरण अन्र्तगत बिहीबार विभिन्न १२ राज्यमा १ सय २१ सिटका लागि मतदान भएको छ । सञ्चार माध्यमहरूका अनुसार पाँचौ चरणको मतदान पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । कर्नाटक, राजस्थान, झारखण्ड लगायत राज्यमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । प्राप्त जानकारीअनुसार साँझ पाँच बजेसम्म मणिपुरमा ८० प्रतिशत मतदान भएको छ । त्यस्तै छत्तिशगढ राज्यमा ६२ प्रतिशत मतदान भइसकेको छ । साँझ अबेरसम्म पनि मतदाताको लामो लाइन विभिन्न मतदान केन्द्रमा देखिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
अघिल्ला निर्वाचनहरूमा भन्दा बढी उत्साह यस पटकको निर्वाचनमा देखिएको पनि अधिकारीहरूको दाबी छ । झारखण्ड राज्यमा भने माओवादी विद्रोहीहरूका कारण केही स्थानमा निर्वाचन विथोल्ने प्रयास भएको थियो । त्यस्तै उडिसामा पनि छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । उडिसामा विधानसभा निर्वाचनका साथै ११ लोकसभा सिटका लागि पनि मतदान भइरहेको छ ।
यता विहारमा भने गर्मीका कारण मतदातालाई निकै सास्ती भएको अधिकारीहरूले जनाएका छन् । बिहारमा सात स्थानका लागि लोकसभा निर्वाचन भइरहेको छ । मतदान भने शान्तिपूर्ण रूपमा भइरहेको बताइएको छ । अत्यधिक गर्मीका कारण दिउसो मतदाताको संख्यामा निकै कमी आएको थियो । दिउसो तापक्रम घट्दै गएपछि भने मतदाताको संख्या बढेको संचार माध्यमहरूले जनाएका छन् । उत्तर प्रदेश र राजस्थानमा पनि उत्साहका साथ मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । राजस्थानमा युवतीहरू थप उत्साहका साथ मतदानमा सहभागी भएको बताइएको छ ।

प्रतिक्रिया