पानी जहाज डुब्यो

इन्च्योन : दक्षिण कोरियामा एउटा यात्रुबहाक पानी जहाज डुब्दा तीन सयभन्दा बढी यात्रु वेपत्ता भएका छन् । देशको उत्तर पश्चिमी इन्च्योन शहरबाट जेजु द्विपमा रहेको दक्षिणी रिर्सोटतर्फ गइरहेको सो पानी जहाजमा ४ सय ५९ यात्रु सवार थिए । पानी जहाजमा धेरै जसो स्कुले विद्यार्थी रहेको बताइएको छ ।
पानी जहाज डुब्न थालेपछि दर्जनौं पानी जहाज र हेलिकप्टरमार्फत् उद्धारको प्रयास गरिएको छ । केहीलाई उद्धार गर्न सुरक्षाकर्मी सफल भएको बताइएको छ । अधिकारीहरुका अनुसार अहिलेसम्म कम्तिमा चारको मृत्यु भैसकेको छ । दर्जनौं अन्य घाइते भएका छन् । दक्षिण कोरियाली अधिकारीहरुले यसअघि ३ सय ६८ जनालाई उद्दार गरिएको दाबी गरेका थिए । तर पनि गणनामा गल्ती भएको उनीहरुले बताएका छन् ।
प्राप्त जानकारी अनुसार अहिलेसम्म १ सय ६४ जनाको मात्रै उद्धार गरिएको छ । पानी जहाजको प्राप्त तस्बिर हेर्दा जहाजको एक टुक्रा मात्रै पानीमाथि देखिएको छ । जहाजमा खराबी आएको सन्देश पठाएको दुई घण्टाभित्रमा पानी जहाज डुबेको अधिकारीहरुले जनाएका छन् । वेपत्ताहरुको पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुले विगत २० वर्षयता दक्षिण कोरियामा भएको यो सबैभन्दा ठूलो जल विपत्ती हुन सक्ने आशंका व्यक्त गरेका छन् । पानी जहाजमा रहेका यात्रुको उद्धार गर्न र खोजी गर्न दर्जनौं सुरक्षा समूह र अन्य पानी जहाज पनि तैनाथ गरिएको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । अधिकारीहरुले दुर्घटनाको कारण खोजी गर्न अनुसन्धान पनि सुरु गरेका छन् ।

प्रतिक्रिया