दुई सय छात्रा अपहरणमा

nigeraiनाइजेरिया : नाइेजेरियामा सशस्त्र बन्दुकधारी समूहले देशको उत्तरपूर्वी क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयबाट दुई सयभन्दा बढी छात्रालाई बन्दक बनाई अपहरण गरेका छन् । बोर्नो राज्यमा रहेको चिबोक सहरलाई चारैतिरबाट घेरा हाली उनीहरुले ती छात्रालाई नियन्त्रणमा लिएको बुझिएको छ । अफ्रिकी राज्य नाइजेरियाको राजधानीमा सोमबार मात्रै शक्तिशाली बम आक्रमण भएको थियो ।
मंगलबारको अपहरणको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर, अधिकारीहरुले भने सो घटना विद्रोही समूह बोको हरामले गराएको आशंका गरेका छन् । बोको हरामले पश्चिमाहरुको शिक्षा क्षमायोग्य नभएको तर्क गर्ने गरेका छन् । बन्दुकधारीको समूह स्कुलमा गाडीसहित प्रवेश गरेर छात्राहरुलाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आक्रमणकारीहरु ट्रक र मोटरसाइकलमा आएर सिधै स्कुलभित्र प्रवेश गरेका थिए । विद्यालयमा सुरक्षाका लागि लागिएका केही सुरक्षाकर्मी पनि उनीहरुको सामुन्ने निरीह देखिएका थिए । उनीहरुले सहजै विद्यालयभित्र प्रवेश गरी छात्राहरुलाई लिएर गएका थिए । विद्यार्थीको संख्या यकिन नभए पनि दुई सयको हाराहारीमा भएको अनुमान गरिएको छ । सन् २००९ यता विद्रोही बोको हरामले उत्तरपूर्वी क्षेत्रका दर्जनौ स्कुलमा आक्रमण गरी सयौको हत्या गरिसकेको छ ।
यसै वर्षको शुरुवातमा पनि बोको हरामले केही छात्राहरुलाई घेरा हाली उनीहरुलाई तत्काल विद्यालय छाडेर आफ्नो गाउँ जान चेतावनी दिएका थिए । सोमबार मात्रै राजधानी आहुजामा भएको बम आक्रमणमा कम्तीमा ७१ जनाको मृत्यु भएको थियो । बोको हरामले नाइजेरियामा पनि सरिया कानुन अर्थात् मुश्लिम धर्मअनुसार देश चल्नु पर्ने अडान राख्दै विद्रोह गरिरहेको छ । (एजेन्सी)

प्रतिक्रिया