युक्रेनमा युद्धको त्रास

केइभ, ३० चैत । रसियाली सर्मथक बन्दुकधारी र युक्रेनी सैनिकबीच देशको पूर्वी शहर स्लोभियान्स्कमा भएको भिडन्तमा दर्जनौं मारिएको आशंका गरिएको छ । युक्रेनका गृहमन्त्रीका अनुसार पछिल्लो भिडन्तमा एक युक्रेनी सैनिक अधिकारीको मृत्यु भएको छ । स्रोतहरुका अनुसार दुई पक्षबीच गोली हानाहान भइरहेको छ ।
दुवैतर्फ थप क्षती भएको हुन सक्ने अनुमान गरिएको छ । शनिबार मात्रै रसियाली समर्थक बन्दुकधारीले स्लोभियान्स्क शहर कब्जा गर्ने प्रयास गरेका थिए । उनीहरुले अन्य थप चार शहरमा पनि कब्जा जमाउने प्रयास गरेको बुझिएको छ ।
रसियाली समर्थक बन्दुकधारीले शहरमा प्रवेश गर्न सुरु गरेपछि युक्रेनले आतंकविरुद्ध अपरेशन सुरु गरेको बताइएको छ । अत्याधुनिक हतियारसहित युक्रेनी शहरमा प्रवेश गरेका रसियाली समर्थक बन्दुकधारीले सरकारी भवन र मुख्य क्षेत्रमा कब्जा जमाएका छन् । बन्दुकधारीको सो समूहले शहरको प्रहरी मुख्यालमा समेत कब्जा जमाएको बुझिएको छ । उनीहरुविरुद्धको अभियान सुरु गरेपछि युक्रेनी अधिकारीहरुले सर्वसाधारण जनतालाई घरबाट बाहिर ननिस्कन आग्रहसमेत गरेका छन् ।
युक्रेन र पश्चिमा राष्ट्रहरुले सो घटनामा रसियाको हात रहेको आरोप लगाएका छन् । तर, रसियाले भने सो आरोपको खण्डन गरिरहेको छ । गत महिना मात्रै युक्रेनको क्राइमिया शहर रसियामा गाभिएको थियो । त्यतिबेलादेखि नै युक्रेनमा राजनैतिक संकट गहिरिदै गएको हो । युक्रेनको नयाँ सरकार र रसियाबीच तनाव बढ्दो छ । पूर्वी युक्रेनमा रुसी भाषीहरुको संख्या अत्याधिक छ । गत फेब्रुअरीमा रसियाको समर्थन रहेका राष्ट्रपति भिक्टर यान्कोविचलाई पदबाट हटाएलगत्तै सो सहर र आसपासका क्षेत्रमा सरकारविरोधी प्रर्दशन सुरु भएको थियो ।

प्रतिक्रिया