भारतमा लोकसभा निर्वाचन सुरु

नयाँदिल्ली, २४ चैत । भारतमा सोमबारबाट लोकसभा निर्वाचन सुरु भएको छ । पहिलो चरणमा आसाम र त्रिपुरा राज्यमा मतदान सम्पन्न भएको छ । ६ सिटका लागि दुई राज्यमा भएको मतदान शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । दुवै राज्यमा मध्यान्हसम्ममा ६५ प्रतिशत मतदान भइसकेको थियो । आसाममा लोसभाका लागि पाँच सिटमा प्रतिस्पर्धा भइरहेको छ । सो सीटका लागि दुई केन्द्रीय मन्त्रीसहित ५१ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । निर्वाचनका लागि सुरक्षाकर्मी पनि ब्यापक मात्रामा उतारिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
आसाममा ६४ लाख ४१ हजार ६ सय ३४ मतदाता आफ्नो मतको प्रयोग गर्न तम्तयार भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यता वामपन्थीहरुले शासन गरिरहेको त्रिपुरा राज्यमा एक लोकसभा सिटका लागि ठूला पार्टीहरु बीच टक्कर हुने देखिन्छ । सो राज्यमा ८० प्रतिशत मत खसेको जानकारी भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् । सिपिएम, कंग्रेस आई, तृणमुल कांग्रेस र भारतीय जनता पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । ९ चरणमा सम्पन्न हुने भारतीय लोकसभाको निर्वाचनमा देशका ८१ करोड ४० लाख मतदाता सहभागी हुने अनुमान गरिएको छ ।
विश्वको सबैभन्दा ठूलो निर्वाचनको रुपमा भारतीय लोकसभालाई लिने गरिन्छ । भारतीय लोकसभा निर्वाचनको परिणाम आगामी १६ मे मा सार्वजनिक हुनेछ । सबै चरणको मतदान १२ मेमा सकिनेछ । यस पटकको लोकसभा निर्वाचनमा विशेष गरी सत्ताधारी कंग्रेस आई र मुख्य विपक्षी भारतीय जनता पार्टीबीच टक्कर हुने अनुमान विश्लेषकहरुको छ । भारतीय जनता पार्टीले यस पटकको निर्वाचनमा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेको छ । भारतमा लोकसभा निर्वाचनका लागि ९ लाख ३५ हजार मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया